विभिन्न मागमा नगरपालिका कर्मचारी सङ्गठनले शुरू गऱ्यो गेटसभा

0
1123

दार्जीलिङ, 10 अगस्तः दार्जीलिङ नगरपालिकाका कर्मचारीहरूले भोग्दै आइरहेका विविध समस्या समाधानका लागि आजदेखि नगरपालिका परिसरमा एक सप्ताहव्यापी गेटसभा शुरू भएको छ।

न्यायको मागमा चर्को नाराबाजी गर्दै शुरू गरिएको यो गेटसभाले पनि नगरपालिका प्रशासनलाई कुनै असर नपरे पेनडाउन हड़ताल अनि पेन डाउनले पनि नभए रिले अनशन शुरू गर्ने नगरपालिका कर्मचारी सङ्गठनले चेताउनी दिएको छ।

विशेषगरी दार्जीलिङ नगरपालिकामा ‘बी’, ‘सी’ र ‘डी’ श्रेणीमा धेरैवटा पद रिक्त रहेका छन्, तर ती पदहरूमा अहिलेसम्म पनि स्थायी नियुक्ति गर्ने नगरपालिका प्रशासनले कुनै पहल नै गरेको छैन।

यसैले दार्जीलिङ नगरपालिकामा विगत धेरै वर्षदेखि अस्थायीरूपमा कार्यरत् रहेका कर्मचारीहरूलाई नै यी पदहरूमा नियुक्त गर्नुपर्ने सङ्गठनको माग छ।

दार्जीलिङ हिल तृणमूल कङ्ग्रेसको सहयोगमा शुरू गरिएको यस धरना वा गेटसभा कार्यक्रमको अवसरमा आज दार्जीलिङ हिल तृणमूल कङ्ग्रेस प्रवक्ता एनबी खवास पनि सामेल थिए, जसले दार्जीलिङ नगरपालिकाका कर्मचारीहरूमाथि निकै अन्याय भइरहेको बताउँदै अन्यायको विरोधमा लड्नका लागि नै तृणमूल कङ्ग्रेसले नगरपालिका कर्मचारी सङ्गठनलाई साथ दिएको बताए।

यसैबीच, सङ्गठनकी सचिवा दीपिका गुरुङले भनिन्, “दार्जीलिङ नगरपालिका कर्मचारीहरूले विभिन्न समस्या भोगिरहेका छन्। यस विषय लिएर नगरपालिका प्रशासनलाई धेरैपल्ट अवगत गराइएको हो। तर, अहिलेसम्म पनि नगरपालिका प्रशासन कानमा तेल हालेर बसिरहेको छ। यसैकारण आजदेखि नगरपालिका कर्मचारी सङ्गठनले यो गेटसभाको कार्यक्रम शुरू गरेको हो।

उनले बताएअनुसार यो गेटसभा आगामी एक सप्ताहसम्म जारी रहनेछ। र यो कार्यक्रमले पनि नगरपालिका प्रशासनलाई कुनै असर नपरे अनि कर्मचारीहरूको समस्या समाधानका लागि ठोस पहल नभए पेनडाउन हड़ताल शुरू गरिनेछ।

पेन डाउन हड़तालले पनि केही हुन नसके रिले अनशन अनि रिले अनशनपछि अन्य अझै कठोर आन्दोलन गर्ने सङ्गठनको योजना रहेको उनले बताइन्।

सङ्गठनका अन्य मागहरूमा यी कर्मचारीहरूका सर्भिस बुकलाई अनलाइन व्यवस्थामा गाभ्नुपर्ने, सरकारीको अनुमोदन पाउन नसकेका कर्मचारीहरूलाई सरकारी अनुमोदन दिलाउनुपर्ने, वर्ष 2017-को आन्दोलनकालमा कर्मचारीहरूको काटिएको वेतन शीघ्र भुक्तान गर्नुपर्ने, दार्जीलिङ नगरपालिकामा पनि पे-ब्याण्डको व्यवस्था लागू गर्नुपर्ने आदि रहेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here