मौन धरना प्रदर्शनले गोर्खाल्यान्ड समर्थकहरूमा नयाँ ऊर्जा थपेको छ : रोशन रामुदामु

0
1031
आइतवार विमलपन्थी गोजमुमोको दिल्ली-एनसीआर शाखाद्वारा बङ्गाल सरकारविरुद्ध गरिएको मौन धरना प्रदर्शन।

खरसाङ, १० सेप्टेम्बर : विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) –को दिल्ली एनसीआरले दिल्लीको जन्तर मन्तरमा मौन धरना प्रदर्शन गरेपछि दिल्लीलगायत दार्जीलिङ-तराई डुवर्सका गोर्खाल्यान्ड समर्थकहरूमा नयाँ ऊर्जा सञ्चार भएको गोजमुमो दिल्ली-एनसीआरका महासचिव रोशन रामुदामुले बताएका छन्। उनका अनुसार गोजमुमो दिल्ली-एनसीआरले आइतवार गरेको एकदिने मौन धरना प्रदर्शनको कार्यक्रम लरतरो थिएन। यसले विश्वभरि छरिएर बसेका गोर्खाहरूमा छुट्टै राज्य गोर्खाल्यान्ड आन्दोलन र माग अझै जिउँदै रहेको सन्देश गएको छ।

सोमवार जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै उनले भने, “कतिपय स्थितिले हामी प्रायः एकवर्षसम्म मौन बसेका थियौं, तर गोर्खाल्यान्डका मुद्दा भने हामीले छोड़ेका थिएनौं। र छोड़्नेछैनौं। हामी हाम्रो पार्टी अध्यक्ष विमल गुरुङसँगै छौं। र भविष्यमा पनि सधैँ रहनेछौं।”  
उनका अनुसार बङ्गल सरकारले दार्जीलिङ-तराई डुवर्समा जस्तो प्रकारले गोर्खाल्यान्ड चाहने समर्थकहरूलाई अन्याय अत्याचार गरिरहेको छ, त्यसलाई प्रत्येक गोर्खा एकजुट भएर विरोध गर्नुपर्नेछ। “ बङ्गालले गोर्खाहरूले गोर्खाल्यान्डको शब्दसमेत उच्चारण नगरोस् भन्ने चाहन्छ। शान्तिपूर्ण र गणतान्त्रिक ढङ्गमा संविधानले दिएको अधिकारअन्तर्गत्  छुट्टै राज्य गोर्खाल्यान्डको माग गर्दा बङ्गाल सरकारले कतिसम्म हाम्रा मानिसहरूलाई सताउने कार्य गऱ्यो, त्यो सबैलाई थाहा छ ”, रामुदामुले भने।
एक प्रश्नको उत्तरमा उनले शुरुदेखि नै दिल्ली-एनसीआरका गोजमुमो कार्यकर्ताहरू विमल गुरुङको साथमा रहेको बताए। “ हामी गोर्खाल्यान्डप्रति प्रतिबद्ध र समर्पित छौं, त्यसैले विमल गुरुङसँगै छौं”, उनले भने। साथै हिजो गरिएको धरना प्रदर्शनको सफलताले दिल्लीमा गोजमुमोको शाखा खोलेर सुचारू चलाउने विनय तामाङको योजनालाई पनि ठूलो झट्का लागेको दिल्ली-एनसीआर गोजमुमो शाखा सचिवको दाबी छ। “दिल्ली-एनसीआरमा गोजमुमो कमिटी शुरुदेखि नै अस्तित्वमा छ। यो विघटन भएको छैन। यहाँका केही व्यक्तिहरूलाई लिएर विनय तामाङले दिल्ली-एनसीआर शाखा खोल्ने जुन योजना बनाएको थियो,  त्यो योजनालाई ठूलो झट्का लागेको छ ”, उनले थपे, “हामी दिल्ली-एनसीआर क्षेत्रमा जतिजना पनि छौं, गोर्खाल्यान्ड र विमल गुरुङप्रति इमानदार छौं। हाम्रो सपना गोर्खाल्यान्ड रहेकोले ससाना स्वार्थ र सहुलियतमा भुलिनेछैनौं।”
स्मरणरहोस्, आइतवार गोजमुमोको दिल्ली-एनसीआर शाखा समितिले बङ्गाल सरकारले दार्जीलिङमा खुल्ला रूपमा लोकतन्त्रको हत्या गरी गोर्खाल्यान्ड समर्थकहरूमाथि अन्याय अत्याचार गरेको भन्दै मुखमा कालो पट्टी बाँधेर जन्तर मन्तरमा एकदिने मौन धरना प्रदर्शन आयोजन गरेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here