सांसदको बाटो छेक्नेहरूलाई पक्राउ गर्नुपर्ने विमलपन्थी मोर्चाको माग

0
1348
बीपी बजगाइँ (फाइल फोटो)।

दार्जीलिङ, १० सेप्टेम्बर : सोमवार तकभरमा सांसद राजु विष्टलाई पथावरोध गरी करिब चारघण्टा रोकेर राख्ने विनयपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-का कार्यकर्ताहरूलाई पुलिस प्रशासनले चाँड़ोभन्दा चाँड़ो पक्राउ गर्नुपर्ने माग विमल गुरुङपन्थी गोजमुमोले गरेको छ। उक्त घटनाको तीखो शब्दमा निन्दा गर्दै विमलपन्थी गोजमुमो प्रवक्ता बीपी बजगाइँले मङ्गलवार एक प्रेस विज्ञप्ति जारी गरी भनेका छन्, “शहीदको शहादतलाई सम्मान जनाउनु अनि आफ्नो संसदीय क्षेत्रअन्तर्गत तकभर क्षेत्रका जनतासँग भेटघाट गर्न सिङ्ग्ला कमान जाँदै गरेका संसद राजु विष्टको गाड़ीलगायत उनका समर्थकहरूको धेरै गाड़ीलाई विनय खेमाका लगभग ४०-४५ जना समर्थकले कालो झण्डा देखाएर बाटो रोक्दै चार घण्टासम्म सांसदको लोककृत्य यात्रालाई बाधा पुऱ्याएको घटनालाई हामी गोर्खा जनमुक्ति मोर्चा (विमल खेमा) घोर शब्दमा भर्त्सना जनाउँदछौं। गणतन्त्रमा प्रतिवाद गर्ने अधिकार सबैलाई छ। तर, सांसदको तय कार्यक्रमलाई चार घण्टसम्म रोक्ने अधिकार भने कसैलाई छैन।’’

उनले थप भनेका छन्, “निर्वाचित जनप्रतिनिधि भनेको लोकसेवक हुन्। सांसदले आफ्नो क्षेत्रका जनतालाई भेटेर त्यहाँको अवस्था बुझ्नुलाई लोककृत्य भनिन्छ। लोकसेवकको लोककृत्य निर्वाहनमा स्वेच्छाले बाधा पुऱ्याउनु भारतीय दण्ड संहिताको अनुच्छेद १८६ -अनुसार अपराध हो। विनय खेमाका कार्यकर्ताहरूले भारतीय दण्ड संहितामा तोकिएको अपराध गर्दा पनि त्यहाँ उपस्थित बङ्गाल पुलिसको जत्थाले उनीहरूलाई पक्राउ नगर्नु भनेको बङ्गालमा कानूनको हत्या गर्ने प्रयास हो। बङ्गाल पुलिसले यदि ४०-४५ जनाको हुद्दालाई नियन्त्रण गर्नु सक्दैन भने उनीहरूले आफूलाई असक्षम भएको बताउनुपर्छ। यदि वर्तमान प्रशासन यस्तो कुरा रोक्नबाट असक्षम छ भने हामी यहाँ कस्तो शासन लगाउनुपर्छ त्यो आग्रह भारत सरकारलाई गर्न तयार छौं।’’

बजगाइँले तकभरको घटनाप्रति केन्द्र सरकारको ध्यानाकर्षण गराएका छन्। “पहाड़मा बङ्गाल पुलिस र बङ्गाल राज्य संयन्त्र शान्ति बहालीका लागि पूर्ण रूपले विफल बनेकोले यसको संज्ञान लिएर आवश्यक कदम उठाउनुपर्ने आग्रह पनि गोर्खा जनमुक्ति मोर्चाले केन्द्र सरकारलाई गर्दछ’’, उनले विज्ञप्तिमा भनेका छन्, “विनय-अनितको मनोनित राजनीतिकालमा घटेका यस्ता घटनाहरूलाई बुझ्न संसद राजु विष्टले एउटा संसदीय कमिटीको चाँड़ोभन्दा चाँड़ो माग गर्नुपर्ने आग्रह पनि हामी यसै विज्ञप्ति मार्फत गर्दछौं।’’

हिजो कालो झण्डा देखाएर बाटो छेक्ने विनय–अनितका समर्थकहरूले सांसद राजु विष्टको बाटो नछेकेर ती समर्थकहरूले भविष्यमा जन्मिने आफ्नै नानीहरूको भाग्यको बाटो छेकेको विमल गुरुङपन्थी गोजमुमो प्रवक्ता बीपी बजगाइँको दाबी छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here