सामाजिक कार्यलाई अघि बढ़ाउँदै एड्वर्ड फाउण्डेशन

0
910

दार्जीलिङ, 10 सेप्टेम्बरः एड्वर्ड फाउण्डेशनले सरकारले गर्ने कामहरू पनि गरिरहेको छ।

सरकारले आधा-अधुरै छोड़ेका कामहरूलाई पनि पूरा गर्ने कार्य गरिरहेको छ। जसमा हालसम्म यस फाउण्डेशनले 1 करोड़भन्दा अधिक विभिन्न सामाजिक कार्यमा खर्च गरिसकेको फाउण्डेशनका कर्ताधर्ता अजय एड्वर्डले बताएका छन्।

यसै सामाजिक कार्यहरूकै क्रममा आजदेखि यस फाउण्डेशनले दार्जीलिङको पुरानो बस स्ट्याण्ड अनि वर्तमान सिंहमारी स्ट्याण्डको मरम्मती कार्य शुरू गरेको छ, जसमा सिंहमारी सिण्डिकेटका सम्पूर्ण गाड़ी चालकले खुशी जाहेर गरेका छन्।

गत केही दिनअघि मात्रै सिंहमारी मोटर सिण्डिकेटका पदाधिकारीहरूले फाउण्डेशनका प्रमुख एवं गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ शाखा अध्यक्ष अजय एड्वर्डसित भेट गरेर सिंहमारी मोटर स्ट्याण्डको अवस्था जीर्ण बनिसकेको दुखेसो पोख्दै यसको मरम्मती गरिदिने गुहार लगाएका थिए।

नभन्दै भोलिपल्ट नै अजय एड्वर्ड स्वयं सिंहमारी मोटर स्ट्याण्डमा आएर क्षेत्रको निरीक्षण गरेका थिए अनि शीघ्रै यो स्ट्याण्डको मरम्मती गरिदिने वचन दिएका थिए।

यसै वचनलाई पूरा गर्दै आजदेखि एड्वर्ड फाउण्डेशनको तर्फबाट यो स्ट्याण्डको मरम्मती कार्य शुरू भएको छ।

यति मात्रै होइन, एड्वर्ड फाउण्डेशनले सोम चियाबगानको बैसे समाजको अधुरो सार्वजनिक भवनलाई पनि हिजोदेखि पूरा निर्माण गर्ने कार्य थालेको छ।

गोरामुमोको चालक सङ्गठन गोर्खा एकता चालक सङ्गठनका महासचिव भरत तिरुवाले यसको जानकारी गराउँदै भने, “सोम चियाबगानको बैसे समाज भवन निक्कै वर्षअघि बनाउन थालिएको थियो, तर यो भवनको निर्माण कार्य पूर्ण नभई काम रोकिएको थियो। यसैले गत केही दिनअघि समाजका कार्यकर्ताहरूले अजय एड्वर्डसित भेट गरी आफ्नो गाउँको समाज भवन पूरा गरिदिने अपील गरेका थिए। जसअनुसार, हिजो एड्वर्ड फाउण्डेशनले यस समाज भवन निर्माणका लागि पनि आवश्यक सामानहरू प्रदान गरिदियो। जसमा गाउँलेहरूले अजय एड्वर्डप्रति आभार व्यक्त गरेका छन्।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here