दार्जिलिङ, १० सेप्टेम्बरः जीटीएको सूचना एवं सांस्कृतिक विभागले यस वर्षको अरुणा लामा स्मृति पुरस्कार दार्जिलिङका वरिष्ठ सङ्गीतकार मणिकमल छेत्रीलाई प्रदान गर्ने घोषणा गरेको छ।
स्वर सम्राज्ञी अरुणा लामाको ७६औँ जन्म जयन्तीका दिन हिजो जीटीएले यो पुरस्कार मणिकमल छेत्रीलाई प्रदान गर्ने घोषणा गरेको हो।
छेत्रीलाई यो पुरस्कार आउँदो २७ दिसम्बरका दिन गिरी जयन्तीका अवसर पारेर अर्पण गरिने जीटीए सूचना एवं सांस्कृतिक विभागका कार्यकारी निर्देशक साम्देन डुक्पाले जानकारी गराएका छन्।
उल्लेखनीय छ, गीत-सङ्गीतको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने व्यक्तिहरूलाई प्रदान गरिने अरुणा लामा स्मृति पुरस्कार यसअघि कुमार सुब्बा, राधिका प्रधान, विनोद स्याङ्देन, दावा ग्याल्मो, डीबी घिसिङ आदिलाई अर्पण गरिसकिएको थियो।