असममा गोर्खा डेवलपमेन्ट काउन्सिल गठन, प्रेम तामाङ अध्यक्ष नियुक्त

0
990

दार्जीलिङ, 10 अक्टोबरः असम सरकारले राज्यमा गोर्खा डेवलपमेन्ट काउन्सिल गठन गरेको छ।  यस काउन्सिलका अध्यक्षको रूपमा प्रेम तामाङलाई नियुक्त गरिएको छ।

यस सम्बन्धमा असम सरकारको डिपार्टमेन्ट अव् वेलफेयर अव् प्लेन ट्राइब एन्ड वाकवर्ड क्लासेसले एक अधिसूचना पनि जारी गरेको छ।

यसैबीच, जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै गोर्खा डेवलपमेन्ट काउन्सिलका नवनियुक्त अध्यक्ष प्रेम तामाङले जानकारी गराएअनुसार काउन्सिलमा कुल 45 जना सदस्य रहन्छन्।

हाल सरकारले 18 जनालाई नियुक्त गरेको तथा आउँदो बुधबारसम्म सबै सदस्य नियुक्त गरी काउन्सिललाई पूर्ण विस्तार गरिने पनि उनले बताएका छन्।

तामाङका अनुसार काउन्सिलमा गोर्खा समुदायका सबै जातगोष्ठीको प्रतिनिधि रहनेछन्। साथै यस काउन्सिलमार्फत् राज्यका गोर्खा समुदाय सर्वाङ्गीण विकासका प्रतिबद्धतासँग काम गरिनेछ।

उल्लेखनीय छ, सन् 2010 मै कङ्ग्रेस नेतृत्व तत्कालीन असम सरकारले गोर्खालगायत अन्य-अन्य जाति समुदायका विकासका लागि विकास परिषद् गठन गरेको थियो। तर, 2016 मा भाजपा सरकार असमको सत्तामा आएपछि यी सबै विकास परिषद्लाई भङ्ग गरेको थियो। यद्यपि फेरि असमको भाजपा सरकारले यी विकास परिषद्हरूलाई गठन गरेको छ।

अर्कोतिर, गोर्खा डेवलपमेन्ट काउन्सिलका नवनियुक्त अध्यक्ष प्रेम तामाङले अघिल्लो काउन्सिलको तुलनामा यसपटकको काउन्सिल अधिक क्षमतावान् रहेको बताएका छन्।

स्मरणरहोस्, प्रेम तामाङ अखिल असम गोर्खा छात्र सङ्घको पूर्व अध्यक्ष हुन्। उनीलाई असममा एक सशक्त नेताको रूपमा मानिन्छ।

यसै वर्षको शुरूमा आग्सुका अध्यक्षको पदबाट राजीनामा दिएर उनी भाजपामा सामेल भएका थिए। अहिले तामाङ भारतीय जनता पार्टी असम राज्य समितिका कार्यकारी सदस्य रहेका छन्।  

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here