विनयपन्थी मोर्चा कार्यकर्तामाथि विमलपन्थी मोर्चाले हमला गरेको आरोप, एक घाइते

0
1008

दार्जीलिङ, 10 नोभेम्बरः तकभरको बर्नसबेग चियाकमानमा विमलपन्थी गोजमुमोका कार्यकर्ताहरूले विनय तामाङपन्थी कार्यकर्ता चेतन थापामाथि हमला गरी गम्भीर घाइते बनाएको विनय तामाङपन्थी गोजमुमोले आरोप लगाएको छ।

घाइते बनेका चेतन थापालाई उपचारका लागि दार्जीलिङ जिल्ला अस्पतालमा भर्ना गरिएको छ।

चेतन थापाको ढाँड़मा धारिलो हतियारले प्रहार गरिएको विनय तामाङपन्थी गोजमुमो दार्जीलिङ महकुमा समिति अध्यक्ष आलोक कान्तमणि थुलुङले बताएका छन् र यसविरुद्ध पुलिस प्रशासनले कठोर कारबाही गर्नुपर्ने पनि माग गरेका छन्।

अर्कोतिर  विनय तामाङपन्थी अर्का एक युवक सुधीर राईलाई पनि धेरै कुटपीट गरिएको स्वयं सुधीर राईले आरोप लगाएका छन्।

सुधीर राईले विमलपन्थी मोर्चामाथि आरोप लगाउँदै भनेका छन्, “आज बर्नसबेगमा विमलपन्थी गोजमुमोको एक सभा थियो, जसबारे हामीलाई थाह थिएन। त्यसै समय हामी त्यहाँ एउटा मरौंमा गएका थियौं, तर त्यसै समय उनीहरूले हामीमाथि आक्रमण गरे। जसको फलस्वरूप चेतन थापा गम्भीर घाइते बनेका छन् भने मलाई पनि कुटपीट गरियो।’’

उनले थप भनेका छन्, “हामीले मुर्खता देखाउन चाहेनौँ। यस घटनाका दोषी सबैविरुद्ध पुलिस प्रशासनले शीघ्र कठोर कारबाही गर्नुपर्छ।’’

जानकारीका अनुसार यस घटनाको सन्दर्भमा विनय तामाङपन्थी गोजमुमोले विमलपन्थी मोर्चाका 9 जना कार्यकर्ताविरुद्ध प्राथमिकी दर्ता गरेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here