छुट्टै राज्यः अरूको मुख हेर्ने प्रवृत्ति

0
1130

विगत 10 वर्षदेखि दार्जीलिङ लोकसभा समष्टिमा भारतीय जनता पार्टी (भाजपा) -का सांसद छन्। यस वर्ष 2019 -को 17औं लोकसभा चुनाउमा दार्जीलिङवासीले पुनः भाजपालाई समर्थन जनाए। भाजपाले आफूलाई देशमा ससाना राज्यहरू गठन गर्ने पक्षमा रहेको बताएको छ। यसबाहेक दार्जीलिङका जनताको दीर्घलम्बित राजनीतिक मागहरूलाई पूरा गर्ने एवं स्थायी राजनीतिक समाधान गराउने अस्पष्ट प्रकारको आश्‍वासन दिएको छ। यिनै आश्‍वासनको आधारमा दार्जीलिङका जनताले प्रचण्ड बहुमतले भाजपालाई जिताए।

विगत 10 वर्षदेखि भाजपाले दार्जीलिङबाट जितेको भए पनि छुट्टै राज्य गोर्खाल्याण्ड सम्बन्धमा स्पष्ट रूपमा एकै शब्द उच्चारण गरेको छैन। सन् 2009 -को लोकसभा चुनाउमा दार्जीलिङबाट जसवन्त सिंहले जिते पनि केन्द्रमा भाजपाको सरकार नआएकोले भाजपालाई केही भन्नसक्ने अवस्था आएन। यद्यपि सांसद सिंहले एक-दुइपल्ट दार्जीलिङको मुद्दा उठाए।

संसदमा पहिलोपल्ट अनेपालीभाषीले गोर्खाहरूको मुद्दा उठाउँदा पहाड़वासीको एक कुनामा दुखिरहेको कुण्ठित मन अलिकति भए पनि शान्त बनेको थियो। सन् 2014 -को चुनाउमा भाजपाले पूर्ण बहुमतको सरकार बनायो केन्द्रमा, तर उसले दार्जीलिङको दीर्घलम्बित राजनीतिक मागलाई सम्बोधन गरेन।

पहाड़बाट दिल्ली जाने नेताहरूले फर्केर आएपछि भाजपाको राज्यसभाको गणित बुझाउँदै राज्यसभामा भाजपा बहुमतमा आएपछि अवश्यै छुट्टै राज्यको माग पूरा हुन्छ भन्ने ‘विश्‍वास’ व्यक्त गर्नथाले। झारखण्ड, उत्तराखण्ड, छत्तीसगढ़ राज्य गठन हुँदा केन्द्रको संयुक्त मोर्चाको सरकार संसदको कुन सदनमा चाहिँ बलियो थियो? तेलङ्गना गठन हुँदा युपीए कुन सदनमा बलियो थियो?

यी चारवटा राज्य बनिँदा केन्द्रमा बलियो सरकार र दुवै सदनमा बहुमत हुनुपरेन, भनेपछि छुट्टै राज्य गोर्खाल्याण्डको लागि किन दुवै सदनमा बहुमत चाहियो? हाम्रो पहाड़का नेताहरूले किन यसरी अरूको मनको कुरा ‘बुझिदिएका’ हँ?

हालको चुनाउमा भाजपाले असाधारण बहुमत लिएर सरकार गठन गरेको छ, तर हाम्रा नेताहरू दिल्ली पुगेर फर्किएपछि भन्नथाल्छन् – सन् 2021 -मा पश्‍चिम बङ्गालमा विधानसभा चुनाउ छ, भाजपा त्यो चुनाउ बिग्रियोस् भन्ने चाहँदैन, यसैले हामीले 2021 -को चुनाउ पर्खनुपर्छ भनेर पहाड़वासीलाई ढाड़स दिइरहेका देखिन्छन्।

2021 -पछि भाजपाले जिते पनि हारे पनि छुट्टै राज्य गोर्खाल्याण्डबारे पहल गर्छै भन्ने के ग्यारेण्टी छ? के भाजपा पश्‍चिम बङ्गालमा रहेको आफ्नो जनाधार गुमाउन तयार हुन्छ? भोलि बङ्गालमा भाजपाको सरकार आयो नै भने पनि दिलीप घोष, मुकुल रोय र राहुल सिन्हाहरू बङ्गाल विभाजन गर्न मान्लान्? तर हाम्रा पहाड़का नेताहरू अद्भूत आशावाद लिएर बाँचिरहेछन्, भाजपाको दुःख आफूले ‘बुझिरहेका’ छन्।

हामीले बुझ्नुपर्ने कुरा के भने, गोर्खाहरूको माग संवैधानिक छ, गोर्खाहरूलाई सुरक्षाको खाँचो छ, दार्जीलिङ बङ्गालको भूभाग होइन, छुट्टै राज्यको माग 112 वर्ष पुरानो माग हो, प्रस्तावित गोर्खाल्याण्ड राज्य आत्मनिर्भर राज्य हुनेछ। राष्ट्रिय पार्टीहरूको आफ्ना दलगत बाध्यताहरू हुनैसक्छन्, तर उनीहरूको बाध्यतामा हाम्रो हक मर्नुहुन्न।

यो राष्ट्रिय विषय हो, राष्ट्रलाई नै हामीले यसमा सहमत गराउन एकजुटतापूर्वक काम गर्नुपर्नेछ, भोट हालेर तमाशा हेर्नु कसै गरी पनि फलदायक छैन।

वास्तवमा दार्जीलिङ पहाड़का नेताहरूले समय कटनी गरिरहेका छन्, दोषजति अरूको टाउकोमा थोपरेर आफू चोखो हुन खोजिरहेका छन्। हाम्रो त्रासदी के हो भने हामीले भाजपालाई आफ्नो हात काटेर दिइसकेका छौं, काँक्रालाई थाँक्रा दिएर थाँक्रालाई नै धनी बनाइसकेका छौं। 2009, 2014 र 2019 -मा भाजपालाई जिताएर हामीले आफूलाई फगत निरीह आशामुखी बनाइसकेका छौं।

हामीले समर्थन नदिएको भए पनि भाजपाले दार्जीलिङबाट आफ्नै उम्मेद्वार उठाउने थियो, जसरी पहिले जमानत जफत हुने स्थितिमा पनि भाजपाले दार्जीलिङ समष्टिबाट डा. गीता च्याटर्जीलाई बारम्बार उठाइरह्यो,  जसरी कङ्ग्रेसले र सीपीएमले उठाइरहन्छ।

उनीहरू कुनै निर्दल वा क्षेत्रीय पार्टीको समर्थनमाथि निर्भर रहनचाहँदैनन्। दार्जीलिङले राष्ट्रिय पार्टीको यो नीति नबुझेर घरी खुल्लर, घरी जसवन्त, घरी अहलुवालिया र घरी बिष्टमा आफ्नो अपार एकजुटता समर्पित गरिरह्यो।

दार्जीलिङ आफ्नो राजनीतिक लक्ष्य प्राप्त गर्नमा असफल हुनुको मूलमा पहाड़का नेताहरूको निकटदृष्टि, अनेकता र सङ्कल्पहीनता मुख्य कारण रहेको छ। जनता एकजुट छन् तर नेताहरू एकजुट छैनन्।

सबै नेताको घोषणा हुन्छ – हामी गोर्खाल्याण्ड चाहन्छौं भन्ने। तर एकअर्काको विरोधमा हुन्छन् सधैं। सबैको चाहना एउटै हो भने किन यतिविघ्न पार्टीहरू पहाड़मा? यही अदूरदर्शिता, परस्पर शत्रुता, क्षुद्र स्वार्थको कारण आन्दोलन सधैं असफल छ।

सन् 2017 -को आन्दोलनमा पहाड़का सबै नेता, पार्टीहरू एउटै मञ्चमा आएका थिए तर प्रमुख नेताहरू भने उपस्थित थिएनन्। सर्वदलीय बैठकमा दोस्रो, तेस्रो पंक्तिका नेताहरू उपस्थित भए। सर्वदलीय बैठकमा उपस्थित हुननसक्ने नेताहरूले जनताको चाहना छुट्टै राज्य कसरी ल्याउनसक्छन्? मैले एकजना नेतालाई प्रश्‍न गरेको थिएँ – प्रमुख नेताहरू बैठकमा नआएको भए पनि तर के उनीहरूबीच टेलिफोनिक सम्पर्क थियो? उनले नकारात्मक रूपले शिर हल्लाए। जबसम्म सकारात्मक रूपले शिर हल्लिन्न, तबसम्म गोर्खाको सपना सपनै रहनेछ।

(लेखक गान्तोकबाट प्रकाशित हुने समय दैनिकाका प्रधान सम्पादक हुन्।)

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here