विनयपन्थी मोर्चाले एनआरसी र सीएबीको पुरजोर विरोध गर्ने, भोलिदेखि धरना कार्यक्रम

0
1044
पत्रकारहरूलाई सम्बोधन गर्दै विनय तामाङ र अनित थापा।

सिलगढ़ी, १० नोभेम्बरः गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष विनय तामाङले आफ्नो पार्टीले नागरिक संशोधन बिल (सीएबी)-को पुरजोर विरोध गर्ने दोहोऱ्याएका छन्।

मङ्गलवार पिण्टेल भिजेलमा पत्रकारहरूलाई सम्बोधन गर्दै तामाङले यस्तो भनेका हुन्। पत्रकार सम्मेलनमा उनीसँगै पार्टी महासचिव एवं जीटीएका अध्यक्ष अनित थापा पनि उपस्थित थिए।

यसका साथै उनले दार्जीलिङ, कालेबुङ र सिक्किममा इनरलाइन परमिट लागू गर्ने तथा भारतीय गोर्खाहरूलाई सीएबीबाट परिधिबाट अलग्गै राख्नुपर्ने माग गरेका छन्। उनको मागअनुसार दार्जीलिङ र सिक्किममा पहिला रहेको इनरलाइन परमिट पुनः शुरु गरिनुपर्छ।  

यसअवसरमा तामाङले हिजो नागरिक संशोधन विधेयकमाथि बहसअवधि गृहमन्त्रीले असममा एनआरसीबाट छुटेका सबै अनुप्रवेशकारी (घुसपैठिया) भनेको दाबी पनि दोहोऱ्याए। ‘‘हामी शरणार्थी होइनौं। हामी भारतमा भूमिसँगै आएका हौं’’, विनयले थपे, ‘‘हाम्रो  पार्टीको प्राथमिक अड़ान नै भारतीय गोर्खाहरूको सुरक्षा हो।’’

उनले थप भनेका छन्, ‘‘एनआरसी र सीएबीको मुद्दालाई लिएर हामीले अघिबाटै भारतीय गोर्खाहरूलाई मूलनिवासीको मान्यता दिनुपर्ने  केन्द्र सरकारसमक्ष माग गरेका छौं। तर, अहिलेसम्म दिएको छैन। असममा सन्थाल, आदिवासी र अन्य समुदायलाई दिएको छ।’’

यसका साथै विनयले यदि भारतभरि एनआरसी लागू भएको खण्डमा एनआरसीमा नपर्ने शरणार्थी र बाहिरबाट आउने शरणार्थीहरूका लागि दार्जीलिङ, कालेबुङ, जलपाइगढ़ी तथा अलिपुद्वार जिल्लामा पुनर्वास केन्द्र स्थापना नगर्ने माग पनि केन्द्र र राज्य दुवै सरकारसँग गरेका छन्।

अर्कोतिर उनले नागरिक संशोधन विधेयक र राष्ट्रिय नागरिक पञ्जीविरुद्ध भोलि ११ दिसम्बरदेखि दार्जीलिङ र कालेबुङ जिल्लापाल कार्यालय तथा खरसाङ र मिरिक महकुमा अधिकारी कार्यालयमा धरना प्रदर्शन कार्यक्रम गरिनेछ। विनयका अनुसार यो धरना प्रदर्शन कार्यक्रम बिहान १०:३० देखि अपराह्न ४ बजेसम्म चल्नेछ।

यसका साथै उनले आउँदो १९ दिसम्बरको दिन दार्जीलिङ र कालेबुङका जिल्लापालमार्फत् आफ्ना मागहरूको ज्ञापन केन्द्र सरकारसमक्ष पठाउने बताएका छन्।

‘‘गोर्खा समुदायलगायत उत्तर बङ्गालमा बसोबास गर्ने सम्पूर्ण समुदाय तथा गोर्खा जनमुक्ति मोर्चा (दोस्रो खेमा)-को पक्षबाट एनआरसी र सीएबीसम्बन्धमा हामी प्रधानमन्त्री, गृहमन्त्रीलगायत भारतका सबै राज्यका मुख्यमन्त्रीहरूलाई पत्र लेख्नेछौ’’, विनयले थपे, ‘’२३ देखि २७ दिसम्बरसम्म हामी जीटीए क्षेत्रभित्र रहेका केन्द्र सरकारअधीनस्थ सबै कार्यालयमा घेराउ गर्नेछौं। यो कार्यक्रमपछि हामी पार्टीको केन्द्रिय समितिको बैठक डाकेर हामी एनआरसी र सीएबीविरुद्ध अन्य कार्यक्रमहरू तय गर्नेछौं।’’

यसअवसरमा मोर्चा दोस्रो खेमाका अध्यक्ष विनय तामाङले एनआरसी र सीएबीलाई भारतीय गोर्खाहरूका लागि कालो दिनको संज्ञा दिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here