– शरद प्रधानदियालो पत्रिकाको हाँगो १३८ मई २००३ मा प्रसिद्ध साहित्यकार शरद छेत्रीको स्मृतिका पृष्ठहहरूमा : कविवर ‘जगत्’ राई’ शीर्षकमा एउटा लेख प्रकाशित भएको थियो । शरद छेत्री लेख्छन्- २६ तारिक जुलाई सन् १९३४ मा सेलिबोङ चियाबारीमा जन्मनु भएका हाम्रो प्रतिभाशाली साहित्यिक ‘जगत्’ राईज्यू युवावस्थामा प्रवेश गर्दै दार्जिलिङ शहरको केन्द्रमा अवस्थित नगरपालिका माध्यमिक बाल विद्यालयमा नेपाली विषय पढाउने प्रिय शिक्षक हुनुभएको थियो – त्यसबेला म पनि त्यहीँका एक विद्यार्थी थिएँ। तब, त्यस छैटौँ कक्षासम्मको ‘मिडल स्कुल‘ भनिने शान्त र स्वच्छ परिवेश सम्पन्न नगरपालिका विद्यालयको गरिमा नै बेग्लै थियो । धीर-व्यक्तित्वयुक्त (स्व० काजीमान राईजस्ता कुशल एवम् अनुशासनप्रिय प्रधान-अध्यापक सञ्चालित त्यस विद्यालयमा भर्ना हुने मौका प्राप्त गर्नु मात्रै पनि एउटा गर्वको कुरो नै मानिन्थ्यो त्यहाँ) प्रायः जसो ओठमा मोटो थरीको चुरोट च्यापेर बाक्लो धुवाँ पिउँदै, गहिरो चिन्तनमा निमग्न झैँ देखिने अनि सदा टाइसुटमा सुसज्जित गोरो वर्णको प्रधान अध्यापक काजीमान राईलाई हेर्दा अङ्ग्रेज नै लाग्थे भने, युवक-शिक्षक ‘जगत् राईलाई चाहिँ झर्रो नेपाली पहिरनमा मात्रै सधैँ देख्दा हामीलाई आश्चर्य र अनौट लाग्नु स्वभाविक नै थियो ।“
साठी दशक कविताका लागि उर्वरा क्षेत्र रह्यो दार्जिलिङ जिल्ला र वरपर। अगमसिंह गिरी, विनीता सिंह आदिले कविका रूपमा आफैँलाई स्थापित गरिसेकका थिए- त्यो बेला। त्यहीँ हुलामा आए जगत राई पनि मोफसलबाट दार्जिलिङ शहर शिक्षकको जागिर खान दार्जिलिङ म्युनिसिपल विद्यालयमा अनि साहित्यको फराकिलो फाँटमा आफ्नो प्रतिभा प्रस्फुटन गर्न, जुन क्षेत्रबाट कवि राई आउनु भयो, त्यो क्षेत्रबाट कवि, लेखक र सङ्गीतकर्मीहरू निकै आएका छन्। कवि मदन ओझा र गायक-सङ्गीतकार विनोद स्याङदेन तिनीहरूमध्येमा प्रमुख हुन। जगत राई मूलतः कवि हुन् तर, केही कथा पनि लेखेका छन्। जगत राईका दुइटा कविता बनारसीबाट प्रकाशित हुने ‘उदय’-मा छापिएको पाउँछौँ। पहिलो कविता ‘पेट’ छापिन्छ वर्ष २५, किरण ४-७, २०१९ भाद्रमा अनि दोस्रो ‘मेरो कविता’ चाहिँ त्यही वर्ष किरण १०-१२, पौषमा।
‘पेट’ व्यङ्ग्यात्मक कविता हो कवि जगत राईको। पेटले भोकको व्यथा नबुझेको भावमा लेखेको कविताले अच्छा राई ‘रसिकका कविता र निबन्धको झझल्को दिन्छ।
“ त्यसैले हो भने त अब…
तँलाई नै चिरफार गरेर भुटभाट पारीकन
मैले हाँसी-हाँसी उत्सव मनाउनुपर्छ।
तब तँ जान्दछस् भोजनका पीडा र व्यथा !
तब तँ जान्दछस् अरूका जीवन र अस्तित्व !
यसरी शान्ति उपलब्ध गरिस् भने,,
मेरो निम्ति त विश्वले शान्ति कमाउँछ ।
—— नत्र ता मृत्युपर्य्यन्त——–
अभिशाप सम्झी—– मैले जलिरहन पर्छ ।।।
भोकको पीडालाई कविताको माध्यमबाट अभिव्यक्त गर्ने कवि जगत राईले अच्छा राई र नरेन्द्रप्रसाद कुमाई भन्दा उमेरमा एक दशक बढी बाँच्न पाए। ३६ वर्षको कलिलो उमेरमा दुई सन्तान र पत्नीलाई छाडेर इहलिला समाप्त गरे रोगले थलिएर।
कवि नरेन्द्रप्रसाद कुमाईकृत रोदन खण्डकाव्य झैँ जगत राईले पनि रोदन खण्डकाव्य लेखे अनि धुवाँ-मा धारावाहिक रूपमा छापियो। कवि कुमाईको भन्दा फरक धार र शैलीमा लेखिएको काव्यमा कुमाईको प्रणय र प्रेमालाभ भन्दा पृथक दर्शन र शैलीमा प्रस्तुत भएको पाउँछौँ।
रुनुमा जो छ जीवन सार्थक
हाँस्नुमा कति पनि छैन!
रुनु नजान्ने निरर्थक
ससार थाहा हुँदैन।
जगत राई नेपाली साहित्यमा प्रवेश गरेका समय दार्जिलिङमा तेस्रो आयामको जगजगी थियो भने अगमसिंह गिरी, वीरेन्द्र सुब्बा आदि निकै सशक्त रूपमा आइसकेका थिए। उत्तर-भारती-कालमा प्रकाशित भएका पत्रिकाहरूजस्तै दियालो, धुवाँ, दियो, अस्तित्वले पनि धेरै कवि र लेखकलाई प्रश्रय दियो। दियालो-मा प्रकाशित भएको उनको एउटा कवितामा जीवन बोल्छः
मुक्त उडानकी यौटा म चित्र
यौवन-पथको यौटा म दृश्य
कटु-समस्याको पूर्ति-साकार,
मै पर्यन्त सीमित-संसार।
समालोचक कृष्णराज घतानीको एउटा लेख ‘कवि ‘जगत’ राईका केही कविता लिएर’ सिक्किमबाट प्रकाशित हुने प्रक्रिया पत्रिकामा छापिएको थियो । उक्त लेखमा घतानी सर लेख्छन् – यी कविताहरूलाई लिएर मलाई भन्न मन लागेको कुरा के भने- अगमसिंह गिरी राईज्यूका एक अभिन्न मित्र थिए। यी दुई कविका लेखन शैली र शब्दहरूका चयनमा प्रायः धेरै नै समन्वय छन्। राईज्यू कवि गिरीबाट प्रभावित भएका हुन् वा गिरीज्यू जगतजीबाट प्रभावित भएका हुन् भन्न निकै चर्को देखिन्छ। यद्यपि, जगतजी गिरीजीका पङ्क्तिका कवि भए पनि उहाँले जनतासम्मुख आउन सङ्कोच सम्झन्थे- यो राईजीको ठुलो कमजोरी थियो’- ( ‘कथा-स्मृति’- तिलक र शरदबाट)। सम्भवतः अझ पर त्यो भन्दा कमजोरी हाम्रो छ- ‘जगत’-ज्यूका जे जति रचना प्रकाशमा आए- सबै समालोचनात्मक दृष्टिगत परिवेष्ठित छैनन्, अनुसन्धानात्मकताका साथै बृहत् रूपमा कलम उठाइएको छैन, प्रयाससम्म गरिएको छैन ( यद्यपि, यो सानो प्रयास हो)। यस्ता सशक्त स्वच्छन्दवादी प्रतिभाशाली कवि ‘जगत’-ज्यू वि.स. २०२६ को जेठ तदानुसार १९७० जून १२ तारिखका दिन यस जगतदेखि विदा भए। आजीवन साहित्यको माध्यम लिएर उनले जे गरे, दिए आफ्नो भाषा-साहित्य, जाति-संस्कृतिलाई नै अग्रशीलता प्रदान गर्नु थियो, यो उनको उद्देश्य थियो।”
‘सुनचरी’ २० मार्च २००२ को साहित्यिक-पृष्ठमा सचेत अन्वेषी जिना राईद्वारा लेखिएको स्व० जगत राई बारेमा ‘अतीतका गर्भमा विलाउन लागेका साहित्यकार जगत राई शीर्षकको प्रकाशित हुन्छ, जसमा स्व० राईका खण्डकाव्यहरूमध्ये रोदनधारावाहिक रूपमा ‘धुवाँ‘ पत्रिकामा अनि शान्तिबाला‘ –का केही अंश ‘जनदूत‘ र ‘हाम्रो अस्तित्व‘ पत्रिकामा प्रकाशित भएका तथ्य प्रकट गरिएको छ। त्यही रचनामा स्व० राईका केही कथालाई विश्लेषण गर्दै “कथाकारका रूपमा ‘जगत‘ राईलाई सामाजिक पृष्ठभूमिमा मनोविश्लेषणात्मक र यथार्थलाई पृष्ठपोषण गर्ने कथाकारका रूपमा‘ निर्धारित गरिएको छ।
समालोचक एवं इतिहासकार डा. कुमार प्रधान आफ्नो अङ्ग्रेजी पुस्तक नेपाली साहित्यको इतिहासमा नरबहादुर दाहाल, मनबहादुर गुरुङजस्तै जगत राई पनि अगमसिंह गिरीबाट प्रभावित भएको भन्नु हुन्छ। जगत राईले शान्तिबाला खण्डकाव्य लेखेको उल्लेख गर्नु हुन्छ डा. प्रधान। राजनारायण प्रधानद्वारा सम्पादित ‘दार्जिलिङ कथा र कथाकार भाग १’ मा उनको ‘फेरि गाउँतिर’ कथा समावेश भएको पाउँछौँ।