सिलगढ़ी, 11 जनवरी : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी आगामी 21 जनवरीको दिन पाँचदिने भ्रमणका लागि उत्तर बङ्गाल आउनेछिन्। यो पाँच दिनमध्ये तीन दिन मुख्यमन्त्री पहाड़मा बस्नेछिन्। शुक्रवार उत्तर बङ्गाल विकास मन्त्री रविन्द्रनाथ घोषले यसबारे जानकारी गराएका छन्।
घोषका अनुसार मुख्यमन्त्री आगामी 21 जनवरीको दिन हवाईमार्ग मार्फत् बाघडुग्रा आइपुग्नेछिन्। त्यसपछि सड़क मार्ग हुँदै उनी सोझै दार्जीलिङ जानेछिन्। दार्जीलिङमा आगामी 23 जनवरीको दिन उनी नेताजी जयन्ती समारोहमा सामेल हुनेछिन्। यो समारोह दार्जीलिङको चौरस्ता हुने आयोजन गरिनेछ।
पहाड़मा बसाइँअवधि उनले प्रशासनिक बैठक, विकासकार्यको समीक्षा र अन्य कार्यक्रममा भाग लिने मन्त्री घोषले बताएका छन्। पहाड़मा तीनदिन बसेपछि मुख्यमन्त्री ब्यानर्जी 24 जनवरीको साँझ सिलगढ़ी फर्किनेछिन्।
यसपछि ममताले 25 जनवरीको दिन सिलगढ़ीमा उत्तर बङ्गाल उत्सवको उद्घाटन गर्नेछिन्। मुख्यमन्त्रीको आगमनलाई ध्यानमा राखेर यो उत्सवको मितिमा फेरबदल गरिएको छ। प्रत्येक वर्ष उत्तर बङ्गाल उत्सव 22 जनवरीदेखि शुरु हुन्थ्यो। यो उत्सव लगातार 8 दिन चल्नेछ। यसै दिन उनी साँझ कलकाता फर्किने कार्यक्रम छ।
उल्लेखनीय छ, बिहीवार सिलगढ़ीको उत्तरकन्यामा उत्तर बङ्गाल उत्सवलाई लिएर एक बैठक आयोजन गरिएको थियो, जसमा मन्त्री रविन्द्रनाथ घोष एवं उत्तर बङ्गालका विभिन्न जिल्लाका विधायकगण आदि उपस्थित थिए।