सिलगढ़ी, 11 जनवरी : सिलगढ़ी महिला कलेजकी छात्रा अनिन्दिता चक्रवर्तीलाई जबर्जस्ती कलेजमा रोकेर राखेको तथा अनिन्दिताकी दिदी अयन्तिका चक्रवर्तीलाई कुटपीट गरेको आरोपमा शुक्रवार साँझ वाम मोर्चा र एसएफआईको तर्फबाट शहरमा एक र्याली निकालेर यो घटनाको प्रतिवाद जनाइयो। र्यालीमा अनिन्दिताका पिता अजय चक्रवर्तीलाई पुलिसले एकतर्फी कारबाही गरी पक्राउ गरेको भन्दै चर्को विरोध गरियो। र्यालीलाई सम्बोधन गर्दै जिल्ला वाममोर्चाका संयोजक जीवेश सरकारले सीपीएम नेता अजय चक्रवर्तीलाई चाँड़ोभन्दा चाँड़ो रिहाइ नगरे बृहत् आन्दोलन गर्ने चेताउनी दिए।
यसभन्दा अघि सिलगढ़ी महिला कलेजमा छात्रा र बाहिरका मानिसहरूबीच कुटपीटको घटना प्रकाशमा आएको थियो। कुटपिटको यो घटनाले महिला कलेजमा तनाउ सिर्जना भएको थियो। घटनाका अनुसार तृणमूल छात्र परिषद्विरुद्ध महिला कलेजका छात्राहरूलाई हिजो जबर्जस्ती र्यालीमा लगेको आरोप लागेको थियो। यद्यपि यो आरोपलाई तृणमूल छात्र परिषद्ले निराधार बताउँदै खण्डन गरेको थियो।
यसै घटनालाई केन्द्र गरी आज माकपा समर्थित छात्रा अनिन्दिता चक्रवर्तीलाई कलेजमा नै थुनेर राखेको आरोप उठेको थियो। प्राप्त जानकारीका अनुसार आफ्नी बहिनीलाई कलेजमा थुनेर राखेको थाहा पाएपछि अयन्तिका चक्रवर्ती कलेज आइन्।
यसैबीच, तृणमूल छात्र परिषद्का सदस्यहरूसँग उनको धक्काधक्की भयो। हेर्दाहेदै यीपक्षबीच कपाल लुछालुछ शुरु भयो। अनिन्दिताका पिता अजय चक्रवर्तीले एक छात्रालाई कुटपीट गरेको आरोप छ। यसै आरोपमा पुलिसले उनलाई पक्राउ गरेको छ। घटनाको सूचना पाएपछि घटनास्थलमा पुगेको पुलिसले स्थितिलाई आफ्नो नियन्त्रणमा लिएको थियो। यो घटनापछि सिलगढ़ीको राजनीतिक वातावरण तातिएको छ।