तथाकथित् जातिप्रेमी राजनीति दल र नेतृत्वहरूको झूट जनताले बुझिसकेका छन् : विनय

0
1781
विनय तामाङ (फाइल फोटो)

दार्जीलिङ, 11 जनवरीः गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष विनय तामाङले पुनः एकपटक नागरिकता संशोधन अधिनियम (सीएए) र राष्ट्रिय नागरिक पञ्जी (पञ्जी)-लाई लिएर केन्द्रको सत्तासीन दल भारतीय जनता पार्टी र पहाड़मा यसका घटक दलहरूमाथि तीखो शब्दमा कटाक्ष गरेका छन्।

शुक्रवार पोख्रेबुङ चामोङ समष्टिका गोरामुमो नेता नवल बम्जनको अगुवाइमा करिब 350 घर गोरामुमो समर्थक आफ्नो पार्टीमा सामेल भएपछि एक विज्ञप्ति जारी गरी भाजपा र यसका सहयोगी दलहरूमाथि तामाङले कटाक्ष गरेका हुन्।

कुनै पनि गोर्खालाई एनआरसी र सीएएमार्फत् विस्थापित अथवा राजनीतिक पीड़ित बन्न दिनेछैनौं। गोर्खाहरूलाई शरणार्थी बनाउन खोज्ने कुनै पनि षड़यन्त्र वा योजनालाई हामी मान्नेछैनौं। हामी यसलाई प्रतिबद्ध छौं”, विनयले विज्ञप्तिमा भनेका छन्, “हाम्रो यो सत् उद्देश्य र अभियानलाई मन पराएर पहाड़वासीले हामीलाई साथ दिनथालेका छन्। तथाकथित जातिप्रेमी राजनीतिक दल अनि नेतृत्वहरूका झूटो जनताले बुझिसकेका छन्। जनतालाई अब भावनात्मक कुरा होइन, व्यावहारिकता चाहिएको छ।

यसका साथै उनले सम्पूर्ण पहाड़वासीलाई आफ्नो भूमि र जातिको सुरक्षा गर्न एनआरसी र सीएएविरुद्ध एकजुट भइदिने आग्रह गरेका छन्।

अर्कोतिर, सीएए र एनआरसी गोर्खा जातिकै अस्तित्वमाथि सङ्कटको रूपमा एउटा गम्भीर समस्या बनेको भए तापनि यो कुरा जान्दा जान्दै पनि पहाड़का कतिपय राजनीतिक दलले राजनीतिक बाध्यताको कारण भाजपा सरकारविरुद्ध आवाज उठाउन नसकिरहेको दाबीसमेत गरेका छन्।

गोर्खाहरूका राष्ट्रिय सुरक्षा र चिह्नारीका लागि लड़्ने दाबी गर्ने ती राजनीतिक दलहरूले आज असमका दुई लाख गोर्खा विस्थापित हुँदा अनि दार्जीलिङकै गोर्खाहरू पनि एनआरसी र सीएएको कारण विस्थापित बनेर गोर्खाहरू आफ्नै माटोमा पनि शरणार्थी बन्ने अवस्था आइपर्दा पनि एक शब्द बोल्न नसक्नु अति दुर्भाग्यजनक रहेको छ”, तामाङले थप भनेका छन्, “गोर्खाहरूका सुरक्षा गर्छु ऊन्ने राजनीतिक दलका नेतृत्वहरूले भाजपाअघि आत्मसमर्पण गरेका छन्, जसले गर्दा उनीहरू गोर्खाहरूका पक्षमा एक शब्द पनि भाजपाविरुद्ध बोल्न सकिरहेका छैनन्। उनीहरू भाजपाको लगाम लगाएको घोड़ा बनेका छन्।”  

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here