सिलगढ़ी, 11 जनवरीः दुईदिने भ्रमणका लागि कोलकाता आइपुगेका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध वामपन्थी सङ्गठनहरूले शनिवार विरोध प्रदर्शन गरेका छन्।
शुरुदेखि नै नागरिक संशोधन अधिनियम (सीएए) र राष्ट्रिय नागरिक पञ्जी (एनआरसी)-विरुद्ध लगातार विरोध प्रदर्शन गरिरहेका वामपन्थी सङ्गठनहरूले आज यी दुई मुद्दालाई केन्द्र गरी प्रम मोदीको कोलकाता भ्रमणलाई लिएर विरोध प्रदर्शन गर्ने पूर्वघोषित कार्यक्रमअनुरूप राज्यभरि विरोध प्रदर्शन गरेका हुन्।
यसै क्रममा आज सिलगढ़ीमा पनि वाममोर्चाले ‘नरेन्द्र मोदी गो ब्याक’-को नारासहित विरोध र्याली निकाल्यो।
र्यालीमा सहभागी वाममोर्चा कार्यकर्ताहरूले कालो ब्याज लगाउनका साथै कालै झण्डा बोकेर प्रधानमन्त्रीको विरोध गरेका थिए। र्याली हिलकार्ट रोड़स्थित पार्टी कार्यालयअघिबाट निकालिइएको थियो भने शहर परिक्रमा गरी पुनः पार्टी कार्यालयअघि आएर समापन गरिएको थियो।
अर्कोतिर, एनआरसी र सीएएको विरोध जनाउँदै सोशलिस्ट युनिटी सेण्टर अव् इण्डिया (कम्युनिस्ट) अर्थात् एसयूसीआईले आज सिलगढ़ीमा प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला जलायो।
स्थानीय कोर्ट मोडमा प्रधानमन्त्रीको पुतला जलाउनअघि एसयूसीआईले पथसभा पनि गरेको थियो भनेका कार्यकर्ताहरूले सीएए र एनआरसीलाई केन्द्र गरी प्रधानमन्त्री मोदीविरुद्ध व्याक नाराबाजी पनि गरे।
यसअवधि उनीहरूले प्रधानमन्त्री र एनआरसी-सीएएविरुद्ध प्ला-कार्ड बोकेका थिए।