दार्जीलिङ, 11 जनवरी: जीटीए क्षेत्रमा फेरि रिजनल एसएससी (स्कूल सर्भिस कमिशन) लागू गर्ने तथा यस विषयमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीसित कुरा पनि गरिसकेको जीटीए बीओएका अध्यक्ष अनित थापाले बताएका छन्।
आज दार्जीलिङ मोटर स्ट्याण्डमा दार्जीलिङ पहाड़का शिक्षकहरूका विभिन्न सङ्गठनको संयुक्त तत्वावधानमा आयोजित एक जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
“दार्जीलिङ पहाड़ वा जीटीए क्षेत्रमा शिक्षा व्यवस्था लथालिङ्गै भएर गएको छ, चारैतिर भत्किएको छ, जसलाई एकतर्फबाट बनाएर ल्याउँदा, अर्कोतिर बिग्रिएर जाने गरेको छ’’, थापाले थपे, “यहाँको यस्तो व्यवस्था सन् 1986-मा भएको गोर्खाल्याण्ड आन्दोलनकालदेखि नै हो।’’
स्मरण गराइन्छ, गोरामुमोको 28 महिने आन्दोलनपछि सन् 1988-मा स्थापना भएको दागोपाप (दार्जीलिङ गोर्खा पार्वत्य परिषद)-ले दार्जीलिङ पहाड़मा नै क्षेत्रीय स्कूल सर्भिस कमिशन गठन गर्ने माग गरेको थियो, जसअनुसार दार्जीलिङमा सन् 1997-मा प्रथमपल्ट एसएससी मालदा जोनबाट परीक्षा भएको थियो। त्यसपछि अन्तिमपल्ट सन् 1999-मा दार्जीलिङ जोन एसएससीको परीक्षा भएको थियो। त्यसपछि दार्जीलिङ पहाड़को एसएससीको अस्तित्व नै समाप्त भएको थियो।
यद्यपि, फेरि वर्तमान जीटीए अध्यक्ष अनित थापाले एसएससी हिल रिजनलाई पुनः शुरू गराउने सोच बनाएका छन्। र यसका लागि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीसित पनि उनले कुराकानी गरिसकेको जनाएका छन्।
आज यहाँको मोटर स्ट्याण्डमा शिक्षक सङ्गठनहरूको जनसभा शुरू हुनअघि सयौँ शिक्षकहरूले यहाँको रेलवे स्टेशन परिसरबाट एक ऱ्याली निकालेका थिए।
ऱ्याली मोटर स्ट्याण्डमा आएर जनसभामा परिणत भएको थियो।
जनसभालाई सम्बोधन गर्दै थापाले दार्जीलिङ पहाड़का शिक्षक-शिक्षिकाहरूले नै पहाड़को शिक्षा प्रणालीलाई राम्रो दिशामा अघि बढ़ाउन पहल गर्नुपर्ने पनि अपील गरे।
उनले भने, “मलाई जुन विषयको ज्ञान छैन, त्यस विषयमा बेसी बोल्ने र बाट्ठे हुनुछैन, जसलाई जुन विषयमा ज्ञान छ, उनीहरू नै त्यस विषयमा लागिपर्नुपर्छ। यसैले शिक्षाजस्तो विषयमा यहाँका शिक्षक-शिक्षिकाहरूले नै ठोस कार्य गर्नुपर्छ। यसका लागि शिक्षक-शिक्षिकाहरू मिलेर एउटा एडुकेशन सेल गठन गरेको उचित हुनेछ। ताकि यस सेलले दार्जीलिङ पहाड़को शिक्षा व्यवस्थालाई कसरी राम्रोसित अघि बढ़ाउन सकिन्छ, त्यसमाथि ठोस निर्णय लिने जिम्मेवारी वहन गरोस्।’’
विशेष दार्जीलिङ पहाड़को राजनीतिलाई सही दिशानिर्देश गर्ने उद्देश्यले नै आज पहाड़का विभिन्न शिक्षक सङ्गठनले यहाँ शैक्षिक जनसभाको आयोजन गरेको थियो।