दार्जीलिङ, 11 फरवरीः सुब्रमण्यम स्वामीले भाजपाले गोर्खाल्याण्ड युनियन टेरिटोरीको गठन गर्नुपर्ने बताएका छन्। स्वामी भाजपाका वरिष्ठ नेता एवं राज्यसभा सांसद हुन्।
मङ्गलवार बिहान ट्वीट गरी उनले यस्तो बताएका हुन्।
उनका अनुसार भाजपाले आफ्नो वाचाअनुसार यूटी गठन गर्नुपर्नेछ। गोर्खाल्याण्ड उच्च प्राथमिकता रहेकोले पनि भाजपाले सरकारले आफ्नो वचन पूरा गर्नुपर्ने स्वामीको भनाइ छ।
यसका साथै उनले भाजपाले धेरै राज्यमा गरेको वाचालाई पूरा नगरेको पनि बताएका छन्।
स्वामीको गोर्खाल्याण्ड युनियन टेरिटोरी गठनसम्बन्धीको यो ट्वीटमा धेरैले रिट्वीट गरी प्रश्न गरेका छन्, जसमध्ये धेरैले गोर्खाल्याण्ड युनियन टेरिटोरीको गठनले बङ्गालमा भाजपालाई हानि पुग्ने बताएका छन्।
यस्तै जैद अहमदले स्वामीको ट्वीटमा रिट्वीट गरी भाजपाले गोर्खाल्याण्ड गठन गरेको खण्डमा बङ्गालमा यसको अहिले जे जति जनाधार, त्यो सबै सकिने बताएका छन्।
जैदको उत्तरमा भाजपा नेता स्वामीले लेखेका छन्, ‘गोर्खाल्याण्ड पाकिस्तानलाई दिइएको होइन। यो बङ्गालजस्तै भारतको एक भाग हुनेछ।’
उल्लेखनीय छ, सुब्रमण्यम स्वामीले धेरै अवसरमा गोर्खाल्याण्डको समर्थन गरिसकेका छन्। उनले यस्तो समयमा आफ्नै पार्टीले गोर्खाहरूलाई दिएको वाचा सम्झाएका छन्, जतिबेला देशका एकपछि अर्का राज्यमा भाजपाले हार बेहोरिरहेको छ। त्यसै पनि पछिल्लो 10 वर्षदेखि भाजपाले गोर्खाहरूलाई सपना देखाउने कार्य मात्र गर्दै आइरहेको छ।
देखाइएको एउटै सपना पनि आजसम्म पूरा गरेको छैन। सपनाकै भरमा भाजपाले दार्जीलिङको संसदीय सीट तीनपटक जितिसकेको छ।
यसपालि पनि भाजपाले दार्जीलिङ पहाड़को स्थायी राजनीतिक समाधान र गोर्खा जातिका 11 जातगोष्ठीलाई जनजातिको मान्यताको प्रतिबद्धता जताएर चुनाउ जितेको छ।
यद्यपि अहिलेसम्म यी दुई प्रतिबद्धता पूरा गर्नका लागि भाजपाले कुनै ठोस पहल गरेको छैन।