टिस्टा नदीबाट दुईवटा शव बरामद, दुवै चिह्नित

0
1605

कालेबुङ, 11 फरवरीः मङ्गलवार बिहान टिस्टा नदीबाट दुईवटा शव बरामद गरिएको छ।

रम्बी पुलिसका अनुसार आज बिहान करिब 10 बजे 27 माइलस्थित टिस्टा चरण-3 को बाँधबाट दुईवटा शव बरामद गरिएको हो।

बाँधमा शव तैरिरहेको देखा परेपछि टिस्टा-रङ्गीत उद्धार केन्द्रकी शान्ति राईको अगुवाईमा एक टोलीले नदीबाट दुईवटै शव निकालेको हो।

बरामद शव देवदत्त तामाङ र शिलास रौतियाको रहेको पुलिसले रम्बी पुलिसले बताएको छ।

पुलिसका अनुसार दुईवटै शवलाई पोस्टमर्टमका लागि कालेबुङ जिल्ला अस्पताल पठाइएको छ।

उल्लेखनीय छ, पछिल्लो 24 जनवरीको बिहान राष्ट्रिय राजमार्ग-10 अन्तर्गत् गेल खोलानजिक लिखु भिरमा एसके 01 पीए 8265 नम्बरको कार दुर्घटना हुँदा त्यस वाहकका चालक देवदत्त तामाङ टिस्टा नदीमा बेपत्ता बनेका थिए।

गान्तोकबाट डुवर्सको वीरपाड़ातर्फ गइरहेको उक्त वाहन मूल सड़कबाट सोझै टिस्टा नदीमा खसेको थियो।

त्यस दुर्घटना परी एकै परिवारका चार सदस्यको पनि मृत्यु भएको थियो। दुर्घटना भएकै दिन साक्षी राई (छोरी)-को शव टिस्टाको पानीमा तैरिरहेको अवस्थामा बरामद भएको थियो भने भोलिपल्ट एनडीआरएफ, टिस्टा-रङ्गीत उद्धार केन्द्र र पुलिस प्रशासनले संयुक्त खोजीकार्य चलाएर चन्दन राई (पति), तुलसी राई (पत्नी) र सरगम राई (छोरा)-को शव बरामद गरेका थिए।

तीनैजनाको शव वाहनभित्रबाटै बरामद भएको थियो। दुर्घटनाग्रस्त उक्त वाहन टिस्टाको गहिराइमा डुबेको थियो। त्यसै दिनदेखि चालक देवदत्त तामाङ टिस्टाको नदीमा बेपत्ता बनेका थिए।

अर्कोतिर, 27 जनवरीको साँझपख डुवर्सको दुम्सीपाड़ास्थित 12 नम्बरनिवासी शिलास रौतियाले टिस्टाको पुलबाट हाम फालेर आत्महत्या गरेका थिए।

भोलिपल्ट  बिहानैदेखि टिस्टा-रङ्गीत उद्धार केन्द्रको टोलीले टिस्टा नदीमा खोजीकार्य चलाए तापनि कुनै पत्तो लाग्नसकेको थिएन।

“टिस्टा नदीमा बेपत्ता बनेका देवदत्त तामाङ र शिलाश रौतियाको खोजीकार्य हामीले प्रतिदिन जारी राखेका थियौं”, टिस्टा-रङ्गीत उद्धार केन्द्रकी शान्ति राईले थनिन्, “आज पनि हामी खोजीकार्यका लागि निस्कनै लागेका थियौं। यसैबीच 27 माइलको बाँधमा दुईवटा शव तैरिरहेको सूचना पाएपछि हामीले दुइवटै शवलाई त्यहाँ निकालेर रम्बी पुलिसलाई दिएका छौं।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here