सुब्रमण्यम स्वामीको ट्वीटः गोरामुमोमा हर्ष, विनयले भने-आँखामा धुलो हाल्ने काम

0
1734
गोरामुमो नेता अजय एड्वर्ड।

दार्जीलिङ, 11 फरवरीः भारतीय जनता पार्टीका वरिष्ठ नेता सुब्रमण्यम स्वामीले मङ्गलवार बिहानै ‘गोर्खाल्याण्ड युनियन टेरिटोरी’ सम्बन्धी ट्वीटले पहाड़को राजनीति तताएको छ।

राज्यसभाका सांसदसमेत रहेका भाजपाका यी वरिष्ठ नेताले दार्जीलिङलाई युनियन टेरिटोरी दिनुपर्ने विषयलाई आफ्नो ट्विटर एकाउण्टमार्फत् सार्वजनिक गरेपछि एकातिर गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) रमाएको छ भने अर्कोतिर विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाले यसलाई केवल एक नाटकको संज्ञा दिएको छ।

स्वामीको ट्वीट सार्वजनिक हुनसाथै गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले स्वागत जनाएको छ।

साथै गोरामुमो टोली शीघ्रै स्वामीसँग भेट गर्नका लागि दिल्ली जाने निर्णयसमेत गरेको अजय एड्वर्डले बताएका छन्। एडवर्ड गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीका अध्यक्ष हुन्।

एक प्रश्नको उत्तरमा उनले भने, “सुब्रमण्यम स्वामीको यो बयान अति नै स्वागतयोग्य छ। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा स्वामीको मतमा अति नै खुशी छ, यसैले उनलाई धन्यवाद दिनका साथै राष्ट्रियस्तरमा पनि यसबारे कुरा उठाउन अपील गर्नका लागि गोरामुमोको एक प्रतिनिधि टोली दिल्ली जानेछ।”

यसबारे एक बैठक गरी पार्टीले छलफल गर्ने गर्ने एड्वर्डले बताएका छन्।

यसैगरी गोरामुमोको छैटौं अनुसूचीको मुद्दा विषय लिएर गरिएको एक प्रश्नको उत्तरमा उनले भने, “दार्जीलिङलाई सामान्य प्रकारको युनियन टेरिटोरी मात्रै दिएर हुँदैन, यसलाई छैटौं अनुसूचीको सुरक्षा कवच प्राप्त हुनपर्छ।”

यसैले छैटौं अनुसूची होस्, छैटौं अनुसूचीयुक्त युनियन टेरिटोरी होस् वा छुट्टै राज्य होस्, सबैलाई नै गोरामुमोले स्वागत गर्ने गोरामुमो ब्राञ्च कमिटीका अध्यक्ष अजय एड्वर्डले बताएका छन्।

यसका साथै उनले पार्टीको तर्फबाट दार्जीलिङलाई केन्द्रशासित प्रदेश दिनुपर्ने माग उठाइदिएवापत भाजपा नेता सुब्रमण्यम स्वामीलाई धन्यवाद पन  दिए।

गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङ।

अर्कोतिर, विनयपन्थी गोजमुमोले स्वामीको ट्वीटलाई नाटकको संज्ञा दिएको छ। यसबारे एक प्रश्नको उत्तर दिँदै मोर्चा दोस्रो खेमाका अध्यक्ष विनय तामाङले भने, “युनियन टेरिटोरी होस् वा छुट्टै राज्य गोर्खाल्याण्डको कुरा सामाजिक सञ्जाल (सोशल मिडिया) र संसद सत्रको शून्यकालमा मात्र उठाएर केही हुँदैन। यो केवल जनताको आँखामा धुलो हाल्ने काम मात्रै हो।”

यसका साथै विनयले सोशल मिडियामा आएका खबरहरूमाथि पहाड़का जनता गम्भीर बन्न नहुने पनि बताएका छन्। किनभने, भाजपा वरिष्ठ नेता सुब्रमण्यम स्वामीले विगतमा पनि दार्जीलिङमा नै आएर गोर्खाल्याण्ड दिनुपर्छ भनेकै हुन्।

“विमल गुरुङ दार्जीलिङमा भएको समय नै स्वामी दार्जीलिङ आएका थिए। अनि यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गोर्खाल्याण्डका लागि आवाज बुलन्द गरेका थिए”, विनयले थपे, “स्वामीले यसप्रकारको वक्तव्य दिएको कुल 6 पटक भइसक्यो, तर आजसम्म केही हुनसकेको छैन।”

उनका अनुसार स्वामीले सोशल मिडियामा होइन। तर, देशका प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले नै यसबारे केही कुरा उठाएको भए तथा संसदका दुवै सदनमा यसबारे विधेयक ल्याएर पारित गरिएको भए, त्यो महत्त्वपूर्ण हुनेथियो।

“तर सामाजिक सञ्जाल र संसद सत्रको शून्यकालमा आवाज उठाएर केही हुनेछैन, यो जनताले बुझ्नपर्छ”, विनयले भनेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here