राजु प्रधानले पनि छोड़े विमलपन्थी गोजमुमो

0
923

दार्जीलिङ, 11 फरवरीः विमल गुरुङपन्थी गोजमुमो दार्जीलिङ महकुमा समिति अध्यक्ष राजु प्रधानले पनि पार्टी छोड़े।

आज उनले पार्टीको प्राथमिक सदस्य साथै सम्पूर्ण पदबाट नै राजीनामा दिएको घोषणा गरे।

पार्टीका संस्थापक सदस्य, पार्टीको संविधान-आचार संहिता आदि तयार पार्नमा मुख्य भूमिका निर्वाह गर्ने प्रधानले पार्टी अध्यक्ष विमल गुरुङको तृणमूल कङ्ग्रेसलाई समर्थन जनाउने निर्णयको विरोधमा नै यस्तो निर्णय लिनपरेको बताए।

 “पार्टी स्थापना भएदेखि 2015-सम्म म पार्टीको केन्द्रिय समितिमा सहसचिवको पदमा थिएँ, त्यसपछि मैले पार्टी त्यागेको थिएँ। तर, 2018-मा पार्टी अध्यक्ष विमल गुरुङले बोलाएर पुनः पार्टीमा सामेल हुने अपील गरेपछि म पुनः पार्टीमा सामेल भएको थिएँ अनि 2019-मा सम्पन्न भएको लोकसभा चुनाउमा भाजपाका उम्मेद्वार राजु विष्टलाई जिताउने कार्य गरिएको थियो। तर त्यस चुनाउपछि पार्टी लगभग निष्क्रिय बनेको थियो, पार्टी नेतृत्वहरू पहाड़बाट पलायन बनेका थिए”, प्रधानले थपे, “पार्टी कार्यकर्ता अनि नेताहरूविरुद्ध विभिन्न मुद्दा लागिरहेको थियो अनि कैयौं कार्यकर्ताले जेल सजाय पनि भोगेका थिए। तर, आज आएर विमल गुरुङले पहाड़का सर्वसाधारण जनतामाथि अत्याचार गर्ने पार्टीलाई नै फेरि सरकारमा ल्याउने कुरा गरिरहेका छन् अनि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पुनः मुख्यमन्त्री बनाउने सङ्कल्प गरिरहेका छन्। यो कुरा पच्दै पचेन।”

उनले थपे, “यसैकारण विमल गुरुङले कलकत्तामा एक पत्रकार सम्मेलन गरेपछि नै मैले पार्टी त्याग्ने अठोट गरिसकेको थिएँ। तरै, पनि विमल गुरुङ दार्जीलिङ आएपछि उनीसित कुरा गरेर सत्यता बुझ्ने प्रयास गरिरहेको थिएँ। तर, यसमाथि सन्तोषजनक उत्तर पाउन होइन, पार्टीको बैठकमा पनि मलाई बोलाउन छोड़िएपछि यो पार्टीमा बसिरहने कुनै औचित्य देखिनँ, त्यसैले पार्टीबाट राजीनामा दिएकै उचित ठानेर आज पार्टीबाट राजीनामा दिएको हो।”

राजु प्रधानको भनाइ अनुसार वर्ष 2021-को विधानसभा चुनाउमा राज्यमा पुनः तृणमूल कङ्ग्रेस पार्टीलाई नै सरकारमा ल्याउने विमल गुरुङको भनाइ छ अनि 2024-को लोकसभा चुनाउमा जुन पार्टीले गोर्खाल्याण्डको मुद्दालाई समर्थन गर्छ, त्यसै पार्टीलाई साथ दिने कुरा गरिरहेका छन्। यसबाट 11 जात-गोष्ठीलाई जनजातिको मर्यादा दिने र स्थायी राजनैतिक समाधानको मुद्दा पूरा गर्ने समय अझै 5 वर्ष उता सरेर जाने भएको छ।

“भाजपालाई हामीले 5 वर्षको समय अर्थात् 2024-सम्मको म्याद दिएका छौँ। तर, यो मियाद पूरा नभई विमल गुरुङले भाजपासितको सम्बन्ध तोड़ेर उचित कार्य गरेनन्”, उनले थपे, “यदि विमल गुरुङले अझै केही समय पर्खिएर भाजपासँगै मिलेर दार्जीलिङ फर्किएको भए, उनलाई पहाड़का जनताले भव्य स्वागत जनाउने तय थियो, तर यसो हुनैसकेन।”

के तपाई पनि भाजपामा नै सामेल हुने? भन्ने प्रश्‍नको उत्तरमा प्रधानले स्पष्ट उत्तर दिन चाहेनन्। यद्यपि, उनले राजनीति गर्न नछोड्ने पनि प्रतिबद्धता जाहेर गरेका छन्।

भाजपाले गोर्खा जातिलाई धोका दियो भन्ने आरोपबारे प्रश्‍न गर्दा उनले भने, “भाजपाले धोका दिए जस्तो लागेको छैन। किनभने, हामीले भाजपालाई वर्ष 2024-सम्म समय दिएका थियौं र त्यो अझैसम्म पनि पूरा भएको छैन।”

तरै पनि 11 वटा जात-गोष्ठीलाई जनजातिको मर्यादा दिने कार्य बङ्गाल विधानसभा चुनाउको घोषणा हुनअघि वा आदर्श आचार संहिता लागू हुनअघि नै गर्नुपर्ने पनि माग पनि राजु प्रधानले गरे।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here