सिलगढ़ी, 11 मार्च : दार्जीलिङ संसदीय क्षेत्रमा आगामी लोकसभा चुनाउको मतदान 18 अप्रेलमा हुनेछ। यसै दिन जलपाइगढ़ीमा पनि चुनाउ हुनेछ।
दार्जीलिङ लोकसभा क्षेत्रमा यसपटक लगभग 16 लाख मतादाता छन्। उनीहरूले उक्त दिन आ-आफ्नो मताधिकारको प्रयोग गर्नेछन्। यसपालि दार्जीलिङ संसदीय क्षेत्रमा 3,800 दिव्याङ्ग र 22 जना ट्रान्सजेन्डरले पनि आफ्नो मताधिकारको प्रयोग गर्नेछन्।
आइतबार सिलगढ़ीमा पत्रकार सम्मेलन आयोजन गरी दार्जीलिङकी जिल्लापाल जोयशी दासगुप्ताले यसबारे जानकारी गराएकी छन्। उनका अनुसार यसपालि दार्जीलिङ लोकसभा क्षेत्रमा लगभग 16 लाख मतादाता छन्। जसमध्ये 8 लाख 6 हजार 293 पुरुष र 7 लाख 92 हजार 543 महिला रहेका छन्।
दार्जीलिङ लोकसभा क्षेत्रमा 1899 मतदान केन्द्र रहनेछन्। जसमा पाँच-पाँच जनाको सङ्ख्याले 9,000 पोलिङ पर्सन रहनेछन्।
यसलगायत फ्लाइङ स्क्वाड, सेक्टर अफिसर आदि गरी 11 देखि 13 हजार कर्मचारीको आवश्यकता पर्ने जिल्लापाल दासगुप्ताले बताएकी छन्। उनका अनुसार कर्मचारीहरूको केही कमी छ, यद्यपि यो कमीलाई चाँड़ै गरी चुनावी प्रशिक्षणको कार्य शुरु गरिनेछ।
दार्जीलिङ र कालेबुङ जिल्लालगायत उत्तर दिनाजपुर जिल्लाको चोपड़ा दार्जीलिङको संसदीय क्षेत्रमा पर्छ। जिल्लापालले राजनीतिक दलहरूसँग प्लास्टिकको सट्टामा जैव विघटनीय ब्यानर-पोस्टरको उपयोग गर्ने अपील गरेकी छन्।
यसका साथै फेसबुक र अन्य सोशल मीडियामाथि गिद्दे दृष्टि राखिने पनि उनले बताइएकी छन्। जिल्लापाल दासगुप्ताका अनुसार यसका लागि पहाड़ र समतलमा गरी दुईवटा टीम तयार गरिएको छ।