भोलि ममता-विनयबीच कोलकातामा बैठक : बुधबार उम्मेद्वारको घोषणा

0
1205
दार्जीलिङमा सम्पन्न तृणमूल कङ्ग्रेसको सभा।

दार्जीलिङ, 11 मार्च  : आगामी लोकसभा चुनाउ र पहाड़को उम्मेद्वारबारे तृणमूल कङ्ग्रेस सुप्रिमो एवं राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीसँग बैठक गर्न सोमबार कोलकाता प्रस्थान गरेका छन्।

भोलि विनय-ममताबीच कोलकातामा बैठक हुनेछ। बैठकमा पहाड़को उम्मेद्वारबारे चूड़ान्त निर्णय लिएपछि बुधबार उम्मेद्वारको घोषणा गरिनेछ। यसै दिन राज्यका अन्य संसदीय क्षेत्रका तृणमूल कङ्ग्रेस उम्मेद्वारहरूको घोषणा तृणमूल सुप्रिमो ब्यानर्जीले गर्ने निश्चित छ।

यो खबरलाई विनयपन्थी गोजमुमोका प्रवक्ता सुरज शर्मा र हिल तृणमूल नेता राजेन मुखियाले पुष्टि गरेका छन्।

‘‘यसपालिको लोकसभा चुनाउमा पहाड़बाट भूमिपुत्र उम्मेद्वार हुनेछ। उम्मेद्वार गोजमुमोको हुनेछ, जसलाई तृणमूल कङ्ग्रेसले समर्थन गर्नेछ’’, गोजमुमो प्रवक्ता शर्माले जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै भने। उनले गोजमुमो उम्मेद्वारले फराकिलो मतको अन्तरले लोकसभा चुनाउ जित्ने ठोकुवा पनि गरे।

अर्कोतिर, आज दार्जीलिङमा पत्रकारहरूसँग कुराकानी गर्दै राजेन मुखियाले आगामी लोकसभा चुनाउमा गोजमुमोको उम्मेद्वार भए पनि  गोजमुमोको उम्मेद्वारले तृणमूल कङ्ग्रेसको ब्यानरमा चुनाउ लड़्ने बताए। उनले भने, ‘‘आगामी लोकसभा चुनाउमा उम्मेद्वार तृणमूल कङ्ग्रेसबाहिर भए पनि ती उम्मेद्वारले चुनाउ तृणमूल कङ्ग्रेसको ब्यानरमा लड़्नेछ।’’

यता, जनसंवादसँगको टेलिफोनिक कुराकानीमा मुखियाले पार्टीको हाइकमानले लिएको निर्णयमा हिल तृणमूलको कुनै आपत्ति नरहेको पनि बताए। ‘‘हाइकमानको निर्णयलाई हामी शिरोपर गर्नेछौं। हामी उम्मेद्वारलाई जिताउन कम्मर कसेर खट्नेछौं। यसपालि दार्जीलिङ लोकसभा सीटबाट हाम्रो उम्मेद्वारलाई जिताउन हामी प्रतिबद्ध छौं।’’

मुखिया हिल तृणमूल दार्जीलिङ महकुमा समितिका चुनाउ पर्यवेक्षक हुन्। उनका अनुसार आजै पार्टीको श्रमिक र शिक्षक सङ्गठनको सभा बसिएको थियो।

सभामा आगामी लोकसभा चुनाउ र हिल तृणमूल कङ्ग्रेसको भूमिका र दायित्वबारे विशद् चर्चा गरिएको मुखियाले बताए।

श्रमिक सङ्गठनको सभामा विशेष गरी दार्जीलिङका चियाकमानहरूको समस्याबारे चर्चा-परिचर्चा गरिएको थियो। साथै चियाकमानहरूमा निहित समस्यालाई समाधान गर्न हिल तृणमूल कङ्ग्रेस लागिपर्ने यी तृणमूल नेताले बताए।

उनले भने, ‘‘आज सम्पन्न श्रमिक सङ्गठनहरूको बैठकमा हामीले चियाकमानहरूका विभिन्न समस्याबारे छलफल गरेका छौं। कतिपय चियाकमान बन्द छन्। कतिपय चियाकमानका मालिकहरूले श्रमिकहरूको पीएफ बुझाएका छैनन्। चियाकमानहरूमा विभिन्न समस्या छन्। यसलाई हामी घोषणा-पत्रमा कसरी समावेश गरी समाधान गर्नसक्छौं भन्ने कुरामा प्रतिबद्ध र इमानदार छौं।’’

उनले थप भने, ‘‘यी समस्याहरूको समाधानका लागि पहल गर्नेछौं। साथै यो मुद्दालाई लिएर हामी प्रत्येक चियाकमानका श्रमिकहरूको घर घर पुग्नेछौं। उनीहरूको समस्या सुन्नेछौं। र समाधान गर्न खट्नेछौं।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here