एसडीएफले घोषणा गऱ्यो पाँच उम्मेदवारका नाम

0
706

गान्तोक, ११ मार्चः आउँदो विधानसभा चुनाउका लागि सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)-ले पहिलो सूचीमा पाँचजना उम्मेदवारका नाम घोषणा गरेको छ।

आज गान्तोकस्थित पार्टी मुख्यालयमा एसडीएफ अध्यक्ष पवन चाम्लिङले पाँच उम्मेदवारको नाम घोषणा गरेका हुन्।

एसडीएफले तुमिन-लिङ्गीबाट नोर्जाङ लेप्चा, लाचेन-मङ्गनबाट हिस्से लाचुङ्पा, कबी-लुङ्चोकबाट नवाङ छोपेल लेप्चा, जङ्गुबाट सोनाम ग्याछो लेप्चाआरिथाङबाट आशिष राईलाई टिकट दिएको छ।

एसडीएफकै टिकटमा २००४ –को विधानसभा चुनाउ नोर्जाङ लेप्चा राक्दाङ-तिन्तेक समष्टिबाट विजयी बनेका थिए। केही वर्षअघि  एसडीएफबाट टाढा बसेका उनी पछिल्लो १५ फरवरीका दिन पुनः एसडीएफमै फर्केका थिए।

एसडीएफका वरिष्ठ नेता हिस्से लाचुङ्पा पूर्व मन्त्री एवं पूर्व राज्यसभा सांसद हुन्। उनले एसडीएफको टिकटमा १९९९ र २००४ मा लाचेन-माङ्सिलाबाट चुनाउ जितेका थिए ।

सोनाम ग्याछो लेप्चा राज्यका पूर्व मन्त्री एवं पूर्व विधानसभा अध्यक्ष हुन्।

उनले जङ्गुबाट १९९९, २००४, २००९ र २०१४- मा गरी लगातार चौथोपटक चुनाउ जितेका थिए।

कबी-लुङ्चोकबाट टिकट पाएका नवाङ छोपेल लेप्चा पहिलोपटक चुनाउ लडिरहेका छन्।

एसडीएफका प्रभावशाली युवा नेताका रूपमा मानिएका आशिष राईले पार्टीमा विद्रोह गरी २०१९ को विधानसभा चुनाउ निर्दलीय उम्मेदवारका रूपमा आरिथाङबाट लडेका थिए। तर, उनी पराजित भए।

लामो समय एसडीएफबाट दूरी बनाएका राई केही महिना अघि पुनः एसडीएफमै फर्केका हुन्।

उल्लेखनीय छ, सिक्किम विधानसभाका आसन सङ्ख्या ३२ छ, जसमध्ये आज एसडीएफले पाँचजना उम्मेदवारको घोषणा गरेको छ।

यसैबिच, एसडीएफका अध्यक्ष एवं पूर्व मुख्यमन्त्री पवन चाम्लिङ नाम्ची-सिङ्गिथाङ समष्टिबाट चुनाउ लड्ने निश्चितै छ।

एसडीएफका वरिष्ठ उपाध्यक्ष एवं राज्यका पूर्व विधानसभा अध्यक्ष केएन राईमाथि प्राणघातकलगायत राज्यमा बढ्दो हिंसाको विरोधमा आज एसडीएफले राजधानी गान्तोकमा निकालेको शान्ति ऱ्याली सुरु हुनअघि पार्टी मुख्यालयमा पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै चाम्लिङले उल्लिखित पाँचजना उम्मेदवारका नाम गरेका हुन्।

यैसबिच एसडीएफ अध्यक्ष चाम्लिङले अन्य आसनका लागि पनि उम्मेदवारहरूका नाम चाँडै घोषणा गरिने बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here