सिक्किममा चुनाउ हुँदै : विधानसभा र लोकसभाका लागि १६१ उम्मेदवार, ४,३२,३२५ मतदाता

0
1352
मतदान गर्न पङ्क्तिबद्ध मतदाताहरू।

गान्तोक, ११ अप्रेल : बिहीबार बिहानदेखि सिक्किममा चुनाउ शुरु भएको छ। आज बिहान ७  बजेदेखि शुरु भएको चुनाउ बेलुकी ५ बजेसम्म चल्नेछ। आज सम्पन्न भइरहेको सिक्किमको दशौं विधानसभा र लोकसभा चुनाउका लागि कुल ५६७ मतदान केन्द्र स्थापना गरिएको छ।

सङ्घ सीटका लागि १५१ मतदान केन्द्रहरू छन्। हिजै मतदान कर्मीहरू चुनाउ सामग्री लिएर आ-आफ्नो मतदान केन्द्रमा प्रस्थान गरेका थिए। राज्यका चारै जिल्लाका मतदान कर्मीहरू हिजै बिहानदेखि नै मतदान सामग्री, ईभीएम र भीभीपीएटी लिएर आ-आफ्नो निर्धारित मतदान केन्द्रतिर प्रस्थान भएका थिए।

सिक्किमका कुल ३२  वटा विधानसभा आसनका लागि कुल १५०उम्मेदवार तथा एकमात्र लोकसभा आसनका लागि जम्मा ११  उम्मेदवार चुनावी मैदानमा छन्। सुचारू रूपमा चुनाउ सम्पन्न गराउन राज्यभरि जम्मा ३६०० मतदान कर्मीलाई खटाइएको छ।

यसैगरी, मतदानको दिन शान्ति तथा सुरक्षा सुनिश्चित गर्न ४  हजार सुरक्षा बल तैनाथ गरिएको छ। बिहीवार सिक्किमका जम्मा ४,३२,३२५मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्दैछन्, जसमा २,१६,२२२ पुरुष र २,०७,१०३ महिला मतदाता छन्।

दुईजना मतदाताले मात्र आफूलाई तेस्रो लिङ्गीको रूपमा परिचित गराएका छन् भने २०००मतदाता दिव्याङ्ग रहेका छन्। सिक्किमका मतदाताहरूको ठूलो सङ्ख्या १८ – देखि ४५ वर्ष आयुसीमाका छन्।

चुनावी मैदानमा उत्रिएका  १६१ उम्मेदवारको भविष्य आज ईभीएममा कैद हुँदैछ। २३ मईको दिन सिक्किमलगायत देशभरि एकैचोटि मतगणना सम्पन्न हुनेछ।

२०११ को जनगणनाअनुसार, सिक्किमको ६ लाख ११ हजार जनसङ्ख्यामा ३ लाखभन्दा अधिक मतदाता थिए।

२०१४ को लोकसभा र विधानसभा चुनाउका लागि ३,७०,७३१ मतदाता थिए। पछिल्लोपटक ताजा मतदाता सूचीमा १६,०१२ मतदाता थपिएका थिए।

यसपटकको निर्वाचनमा पवन चामलिङनेतृत्व सिक्किम प्रजातान्त्रिक मोर्चा र पीएस गोलेनेतृत्व सिक्किम क्रान्तिकारी मोर्चाबीच सोझो भिड़न्त छ।

यी दुई पार्टीबाहेक भारतीय जनता पार्टी, अखिल भारतीय कङ्ग्रेस, भाइचुङ भोटियानेतृत्व हाम्रो सिक्किम पार्टी,  दिले नामग्याल बर्फुङ्पानेतृत्व सिक्किम नेशनल पिपल्स पार्टी, पवन चामलिङका काइँला भाइ रूप नारायण चामलिङनेतृत्व सिक्किम राज्य मञ्च, स्व. नरबहादुर भण्डारीको पार्टी सिक्किम सङ्घर्ष परिषद् र सिक्किम रिपब्लिकन पार्टीलगायत अन्य पार्टी र केही स्वतन्त्र उम्मेदवार चुनाउ मैदानमा खड़ा छन्।

सिक्किम विधानसभासँगै एकमात्र लोकसभा सीटका लागि पनि आजै नै निर्वाचन हुँदैछ। लोकसभा सीटका लागि  ११ उम्मेदवार मैदानमा रहे तापनि  सिक्किम प्रजातान्त्रिक मोर्चाका उम्मेदवार डीबी कटुवाल  र सिक्किम क्रान्तिकारी मोर्चाका उम्मेदवार इन्द्रहाङ सुब्बाबीच भिड़न्त छ।

डीबी कटुवाल पेशाले उकिल हुन् भने इन्द्रहाङ सुब्बा भौतिक विज्ञानका शोधार्थी हुन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here