मोदी सरकार आएलगत्तै गोर्खा समुदायका ११ जातगोष्ठीले भारतीयस्तरको जनजातिको मान्यता पाउने अमित शाहको घोषणा

0
1325
कालेबुङमा चुनावी जनसभालाई सम्बोधन गर्दै अमित शाह।

कालेबुङ, ११  अप्रेल : कालेबुङको रोनाल्डसे पार्कबाट भाजपाका राष्ट्रिय अध्यक्ष अमित शाहले गोर्खा समुदायले गरेको सङ्घर्षको फल २६ मईको दिन प्राप्त हुने बताएका छन्।

लगभग ३० मिनटको सम्बोधनमा उनले धेरजसो समय गोर्खा समुदायसँग लड़ित मुद्दामाथि खर्चेका थिए भने यसअवसरमा पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीमाथि कटाक्ष गर्न पनि बिर्सेनन्।

शाहले यसपालि दोस्रोपटक केन्द्रमा मोदी सरकार गठन भएलगत्तै गोर्खा समुदायका जनजाति पाउनबाट  छुटेका ११ जातगोष्ठीलाई भारतीयस्तरमा जनजातिको मान्यता दिने घोषणा गरे।

उनले भने, “घोषणा-पत्रमा हामीले भनेका छौं। दोस्रोपटक मोदी सरकार केन्द्रमा आउनेबितिक्कै जनजातिको मान्यता पाउनबाट छुटेका गोर्खा समुदायका उपजातिहरूलाई हिन्दुस्तानभरि ट्राइबल स्टाट्स दिने काम भाजपा पार्टीले गर्नेछ।”

भाजपा उम्मेदवार राजु विष्टको समर्थनमा आज स्थानीय होम्सस्थित रोनाल्डसे पार्कमा चुनावी जनसभा आयोजन गरिएको थियो। यो जनसभामा भाजपाका राष्ट्रिय अध्यक्ष प्रमुख वक्ताको रूपमा उपस्थित थिए।

घिसिङलगायत सबैलाई सम्झे

शाहले  आफ्नो सम्बोधन शुरु गर्नअघि गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-का संस्थापक अध्यक्ष स्व. सुवास घिसिङलाई स्मरण गरे। त्यसपछि मञ्चासीन गोजमुमोका कार्यकारी अध्यक्ष लोप्साङ लामा, गोरामुमोका अध्यक्ष मन घिसिङ, कालेबुङका विधायिका सरिता राई, क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टीका नेता किशोर प्रधान, अखिल भारतीय गोर्खा लीगका महासचिव प्रताप खाती, कृषक कल्याण सङ्गठनका प्रमुख विष्णु छेत्री, गोर्खाल्याण्ड राज्य निर्माण मोर्चा प्रमुख दावा पाखरिन, गोजमुमो प्रवक्ता बीपी बजगाईंलगायत सबैको नाम उच्चरण गरे।

पाँच हजार आन्दोलनकारीलाई घर फर्काउने घोषणा

आफ्नो सम्बोधनमा उनले जनजाति र दार्जीलिङ पहाड़को समस्यामाथि मात्र बोलेनन्, तर पछिल्लो गोर्खाल्याण्ड आन्दोलनपछि भूमिगत भएका पाँच हजार आन्दोलनहरूकारीलाई घर फर्काउने घोषणा पनि गरे।

“आज अनेक गोर्खा घरबाहिर बस्न बाध्य छन्। ती नेताहरूलाई मैले दिल्लीमा बारम्बार भेटेको छु। उनीहरूको आँखामा वेदना देखेको छु। आफ्नो मातृभूमिबाट पलायन हुनुपरेको छटपटाहट अनुभूत गरेको छु”, शाहले थपे, “उनीहरूमाथि सयौं मुद्दा लगाइयो। जेल हाल्ने षड़यन्त्र भयो। भाजपा यी नेताहरूको साथमा चट्टान भएर खड़ा छ। हामीलाई कसैको डर छैन। आज भएन भने पनि भोलिको दिनमा  यी नेताहरूसँग पक्कै न्याय हुनेछ । म त्यहीं भन्न आएको हुँ।”

एनआरसी गोर्खाहरूका लागि होइन

उनले राष्ट्रिय नागरिक पञ्जीकरण (एनआरसी)-ले गोर्खाहरूलाई कुनै हानि नहुने दोहोऱ्याए। साथै एनआरसीको गलत व्याख्या गरेर ममता ब्यानर्जीले गोर्खाहरूलाई सताउने कार्य गरिरहेको आरोप लगाए। शाह तृणमूल सुप्रिमो ममता ब्यानर्जीप्रति आक्रामक देखिएका थिए।

उनले भने, “एनआरसीले गोर्खाहरूलाई आपत्ति गर्छ भनेर ममताले भन्दैछिन्। यदि मभन्दा कोही हिन्दुस्तानी छन् भने उनीहरू गोर्खा हुन्। उनीहरूलाई कसैले देशबाहिर गर्न सक्दैन। सयौं युद्ध वीरतासँग लड़ेर भारत र भारतीयका लागि खून बगाउने पराक्रमी गोर्खालाई कसले विदेशी भन्नसक्छ?”

शाहले एनआरसीलाई लिएर गोर्खाको मनमा अचाहिँदो डर सिर्जना गरेर भड़्काउने कार्य बन्द गर्ने
ममतालाई चेताउनी दिए।

शाहका अनुसार एनआरसी अनुप्रवेशकारीका लागि हो, गोर्खाहरूका लागि हो। त्यसैले एनआरसीलाई लिएर गोर्खाहरू डराउनुपर्ने काम छैन।

“हामीले अनुप्रवेशकारीलाई देशबाट निकाल्नका लागि एनआरसी ल्याएका हौं। देशबाट अनुप्रवेशकारीहरू छानीछानी निकाल्न सकियोस्, तर ममता दिदीले यसको विरोध गर्दैछन्। अनुप्रवेशकारीहरूको चिन्ता गर्ने ममता दिदीलाई उनकै अत्याचारको कारण बाहिर बस्न परेका पाँच हजार परिवारको चिन्ता किन हुँदैन’’, भाजपाका अध्यक्षले भने।

गोर्खाको जीत निश्चित छ

उनले आफ्नो सम्बोधनमा गोर्खा समुदायको जीत निश्चित रहेको पनि दाबी गरे। शाहले भने, “सुवास घिसिङदेखि लिएर आजसम्म तपाईंहरूले जुन सङ्घर्ष गर्नुभएको छ। जुन बलिदान दिनु भएको छ। जुन यातना सहनु भएको छ। जुन वेदना उठाउनु भएको छ। ती सबै वेदना र सङ्घर्षको अन्त्य २६ मईको दिन हुनेछ। कसैले जति नै किन अत्याचार नगरोस्। सत्यको अघि जित्नु सक्दैन। सत्य गोर्खा अनि पहाड़वासीको साथमा छ। त्यसैले तपाईंहरूको जीत निश्चित छ।”

बाक्लो सङ्ख्यामा भेला भएका समर्थकहरूलाई सम्बोधन गर्दै उनले ममता ब्यानर्जी यसपटक आतिसकेको पनि बादी गरे। साथै चियाकमान र यसमा खटिखाने श्रमिकहरूका लागि मोदी सरकारको मनधन योजनाबारे बुझाए।

ममताले पहाड़लाई तहसनहस गरेको आरोप

शाहले पहाड़ र पहाड़वासीकै मुद्दामा आफूलाई धेरजसो केन्द्रित राखेका थिए। यो उनको पहिलो पहाड़ भ्रमण थियो। शाहले भने, “गोर्खाहरूको वीरता, दार्जीलिङको चिया, लोकगीत र नृत्यले प्रसिद्ध पहाड़वासी शान्ति र अमनको सन्देश दिने भारतीय हुन्। यहाँको हरियाली, लहलह रूखपात, शितलतासँग आउने सूर्यदेव आदिले गर्दा यहाँ विश्वभरिका पर्यटक ल्याउन सकिन्छ।, तर ममताले यहाँको उपत्यकालाई तहस नहत गरिदिएको छ।”

मञ्चमा शाहसँगै भाजपाका साङ्गठनिक महासचिव रामलाल, राष्ट्रिय महासचिव कैलाश विजयवर्गीय, अरविन्द मेननलगायत अन्य पनि थिए।

यसैअवसरमा शाहले गोर्खाल्याण्ड आन्दोलनका शहीद वरुण भुजेलका आमा र श्रीमतीलाई मञ्चमा बोलाए खदार्पण गरी सम्मान पनि जनाए।

ममता सरकारको हार निश्चित

आफ्नो सम्बोधनमा उनले बङ्गालबाट ममता ब्यानर्जीलाई उखेलेर फ्याँक्न सक्ने भाजपा र मोदी मात्र रहेको तथा यसपटक भाजपाले बङ्गालबाट २३ भन्दा अधि सीट जित्ने दाबी गरे।

जुन दिन मतगणना हुन्छ, त्यो दिन भाजपाले बङ्गालमा २३ भन्दा धेर सीट जित्नेछ’’, उनले थपे, “त्यहीं दिन ममता दिदीको सत्ता परिणत तय छ।”

जनसभामा भाजपा उम्मेदवार राजु विष्ट, गोरामुमो प्रवक्ता नीरज जिम्बा, भाजपाका दार्जीलिङ जिल्लाध्यक्ष मनोज देवान पनि उपस्थित थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here