प्रेम तामाङहरूलाई विनयको प्रश्न-के असमका सम्पूर्ण गोर्खा एनआरसीको परिधिभित्र परे?

0
1268

दार्जीलिङ, ११ अप्रेलः केही दिनअघि एनआरसीको सन्दर्भमा असमका गोर्खाहरूलाई लिएर भाजपा खरसाङका उम्मेदवार बी.पी. बजगाइँले दिएको बयानले सिर्जना गरेको विवाद तन्किँदै गइरहेको छ।

बजगाइँको बयानले भाजपालाई गरेको ‘ड्यामेज’ -लाई कण्ट्रोल गर्न दार्जीलिङ आएका असम भाजपाका प्रतिनिधिहरूले एनआरसीलाई लिएर दार्जीलिङमा विपक्षी दलहरूले दुष्प्रचार गरिरहेको र डिटेन्सन क्याम्पमा एकैजना पनि गोर्खा नरहेको बताएपछि एक पत्रकार सम्मेलन गोर्खा जनमुक्ति मोर्चा दोस्रो खेमाका अध्यक्ष विनय तामाङले उनीहरूको बयानप्रति तीखो प्रतिक्रिया व्यक्त गरेका छन्।

उनीहरूले भाजपा नेता एवं गोर्खा डेवलपमेण्ट काउन्सिल (जीडीसी) -का अध्यक्ष प्रेम तामाङहरूलाई असमका नेपालीभाषी सम्पूर्ण गोर्खाहरूले के एनआरसीको परिधिभित्र परेर भारतको नागरिकता पाए त? भन्ने प्रश्न गरेका छन्।

विनयका अनुसार आग्सुका अध्यक्ष छँदा प्रेम तामाङहरूले दिल्लीमा गएर एनआरसीको विरोध गरेका थिए भने भाष्कर शर्मा विधायक छँदा पाँच वर्षसम्म आफ्नो जातिमाथि आघात पर्दा एकै शब्द बोलेनन्।

“आज हाम्रै सन्तान भारतका स्वतन्त्र सेनानीकी नातिनीको नामसमेत एनआरसीमा परेको छैन”, विनयले थपे, “अस्ति भाजपाका यिनै नेताहरू असमका ठाउँ ठाउँमा जाँदा हाम्रै गोर्खा सन्तानले उनीहरूलाई ती ठाउँहरूमा पस्न दिएनन्, त्यो हामीले सञ्चार माध्यमहरूबाट देख्नसक्यौँ।”

उनका अनुसार एनआरसीले असमका गोर्खा समुदायलाई मात्र होइन, तर अन्य समुदायलाई पनि आघात पुगेको छ। डी भोटर्समा धेरैको नाम परेकाले उनीहरूले मतदानसमेत गर्न नपाएको विनयको भनाइ छ।

“डिटेन्सन क्याम्प पनि छन्। फोरेन ट्रिब्युनलमा पनि छन्। म पनि यो विषय लिएर असम गएको थिएँ”, तामाङले थपे, “आज कुनै एक राजनीतिक दलको छाला ओढ़ेर जातिलाई बिगार्ने काम नगरून्। पहिला असम सम्हालून्। त्यसपछि दार्जीलिङ पहाड़ आएर यसरी चुनाउ प्रचार गरून्।”

असमबाट दार्जीलिङ आएका जीडीसी अध्यक्ष प्रेम तामाङ, भाजपा असम राज्यका सचिव किशोर उपाध्याय, निवर्तमान विधायक भाष्कर शर्मा र जीजेवाईएमकी मीडिया इञ्चार्ज परिस्मिता पराजुलीहरू दार्जीलिङ आउनुको मूल उद्देश्य पहाड़का भाजपा उम्मेद्वारहरूको पक्षमा चुनाउ प्रचार गर्नु हो भने गर्न नसक्ने तर एनआरसीबारे विभ्रान्तिपूर्ण कुरा, सत्यलाई ढाकछोप गरी झूटलाई महिमामण्डित गर्न नपाउने पनि मोर्चाका दुइका अध्यक्ष विनय तामाङले बताएका छन्।

उनले थपे, “असत्य असत्य नै रहन्छ। किनभने असममा के कस्ता घटनाहरू घटे; अनि असममा एनआरसी लाग्दा त्यहाँका गोर्खाहरूलाई कतिसम्म पीर-मर्का, दुःख-कष्ट भयो; कतिको असर पऱ्यो, त्यो अहिले एक पत्रकार सम्मेलनमा बोल्दैमा मेटिएर जाने होइन। बिर्सेर जाने होइन। यो पाँच वर्षको अवधिमा सबैले यहाँबाट देखिरहेकै छन्।”

यसै गरी विनयले भाजपाका यी प्रतिनिधिहरूलाई दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका मानिसहरूअघि एनआरसीलाई लिएर असत्य कुरा राखेर सत्यलाई ढाकछोप नगरिदिने तथा भारतीय जनता पार्टी भएर होइन, तर गोर्खा जाति भएर सत्य कुरा यहाँ गरिदिने आग्रह पनि गरेका छन्।

“आज पत्रकार सम्मेलनमा तपाईंहरूले जे कुरा बोल्नु भयो, सोशल मीडियामार्फत् दार्जीलिङका मानिसहरूले मात्र होइन, सम्पूर्ण असमका मानिसहरूले सुने होलान्। तपाईंहरू घर फर्किँदा पनि उज्यालो अनुहार लिएर फर्किन सकून्। किनभने तपाईंहरूले भाजपाको छाला ओढ़ेर ढाँटको राजनीति गर्नुहुँदैछ, त्यो प्रकाशमा आइसकेको छ। भाइहरूलाई भगवानले सद्बबुद्धि दिऊन्। मैले भनिहालें, पार्टी र पद आउँछ-जान्छ। तर, जाति मासिनु हुँदैन”, उनले थपे।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here