घर घर पुगी चुनाउ प्रचार गर्दै शारदा सुब्बा

0
2077
चुनाउ प्रचारका लागि हिँड़ेरै गाउँ घर पुग्दै शारदा सुब्बा।

दार्जीलिङ, ११ मई : तृणमूल कङ्ग्रेसको अड़ान र रणनीतिविरुद्ध विद्रोह गरी दार्जीलिङ विधानसभाको उपचुनाउमा स्वतन्त्र उम्मेदवारको रूपमा खड़ा भएकी शारदा राई सुब्बाले दार्जीलिङ विधान क्षेत्रका गाउँ गाउँमा पुगेर घर दैलो अभियान गरी आफ्नो चुनाउ प्रचार गरिरहेकी छन्।

यसै क्रममा उनले शनिबार दिउँसो बदमताम चियाबारीअन्तर्गत बच्चाबारी र लोअर शिवग्राम गाउँ पैदलै पुगी आफ्नो चुनाउ प्रचार गरिन्। घर घर पुगी सुब्बाले चुनाउ प्रचार गर्नका साथै स्थानीय मानिसहरूको समस्या र गुनासो पनि सुन्दै आएकी छन्। उनले जनताले आफूलाई जिताएको खण्डमा जनताले भोगिरहेका समस्याहरू समाधान गर्नका लागि काम गर्ने आश्वासन पनि दिइरहेकी छन्।

आज चुनाउ प्रचारको क्रममा स्थानीय केही पत्रकारहरूसँग कुराकानी गर्दै स्वतन्त्र उम्मेदवार सुब्बाले भनेकी छन्, ‘‘कुनै सङ्कल्पबिनाको सङ्कल्प यात्रा आयोजन गर्ने सत्ताको शक्ति र धन मसँग छैन। यद्यपि मसित कुना काप्चाका गाउँ-घर हिँड़ेरै पुगी मतदाताहरूलाई उनीहरूकै घरमा गएर भेट्ने, उनीहरूको दुःख-सुख बुझ्ने सक्ने इच्छाशक्ति र विचार छ।’’

यसरी घर घर पुगेर चुनाउ प्रचार गर्दा जनताले भोगिरहेका सानोभन्दा सानो समस्या पनि थाहा हुने र भोलिको दिन उनीहरूले जिताएको खण्डमा ती समस्याहरूको क्रमबद्ध समाधान गर्न सजिलो हुने उनको भनाइ छ।

उल्लेखनीय छ, सुब्बाले शुक्रबार दबाइपानीका विभिन्न गाउँलगायत र हरसिंह हट्टामा चुनाउ प्रचार गरेकी थिइन्। यस क्रममा उनले हिजो यी दुई ठाउँका एकेक जनतालाई प्रत्यक्ष रूपले भेट गरी उनीहरूको समस्या र गुनासो सुनेकी थिइन्। र यी समस्याहरूको समाधानका लागि आफ्नो पक्षमा मतदान गर्ने अपील गरेकी थिइन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here