सिलगढ़ी, 11 मई : शनिबार दिनभरि टिस्टा क्यानलमा पिण्टु भौमिकको शव खोज्दा पनि पाइएन। अब भोलि पुनः आइतबार बिहानैदेखि एसडीआरएस र पुलिसको टीमले पिण्टुको शव खोज्नेछन्।
उल्लेखनीय छ, सोमबार मतिगढ़ा थानाअन्तर्गत कलमजोत निवासी पिण्टु भौमिक बेपत्ता बनेका थिए। उनको हत्या गरिएको आशङ्का गरिएको थियो। आरोपका अनुसार पिण्टु भौमिककी पत्नी सुमोना विश्वासले आफ्ना प्रेमी मनिन्द्र सिंहसँग मिलेर पिण्टुको हत्या गरेकी थिइन्। हत्यारोपी सुमोनाले पुलिसलाई जानकारी गराएअनुसार हत्या गरेकै राति मनिन्द्रले पिण्टुको शवलाई टिस्टा क्यानलमा फ्याँकेका थिए।
सुमोनाले दिएको जानकारीको आधारमा आज दिनभरि टिस्टा क्यानलमा शव खोजियो। तथापि शव बरामद हुनसकेन। शव अब पुनः भोलि खोजिने पुलिसको भनाइ छ। यसैबीच शव खोज्नका लागि टिस्टा क्यानलका दुवै गेटलाई बन्द गरी पानीको स्तर कम्ती गरिएको छ।
स्मरणरहोस्, पेशाले ठेकादार पिण्टु भौमिक पछिल्लो 6 मईदेखि बेपत्ता बनेको भन्दै उनकी पत्नी सुमोना विश्वासले मतिगढ़ा थानामा प्राथमिकी दर्ता गरेकी थिइन्। तर पिण्टुको परिवारलाई सुमोनामाथि शङ्का थियो।
यसैले बिहीवार पिण्टुका भाइ मिठु भौमिकले मतिगढ़ा थानामा प्राथमिकी दर्ता गरेका थिए। यसै प्राथमिकीको आधारमा शुक्रवार पुलिसले सुमोनालाई पक्राउ गर्यो। केरकारअवधि सुमोनाले आफ्ना पति पिण्टुको हत्या गरेको कबुल गरी यो हत्यामा मनिन्द्र सिंह पनि सामेल रहेको जानकारी पुलिसले दिइन्।
पुलिसले त्यसपछि मनिन्द्र सिंहलाई पनि पक्राउ गरेको छ। सुमोना र मनिन्द्रबीच प्रेम सम्बन्ध रहेको खुलासा भएको छ। आज दुवैलाई सिलगढ़ी अदालतमा प्रस्तुत गरियो। अदालतले दुवैलाई सात दिनको पुलिस रिमाण्डमा राख्ने आदेश दिएको छ। पुलिसले दुवै आरोपीसँग घटनाबारे थप केरकार गरिरहेको पनि बताइएको छ।