दार्जीलिङ, ११ मईः आउँदो १२ मईदेखि दिल्लीबाट चल्ने रेल सेवा एनजेपीसम्म बढ़ाइए राम्रो हुने जीटीए बीओएका अध्यक्ष अनित थापाले बताएका छन्।
यसका साथै उनले भविष्यमा पनि विशेष रेल सेवा परिचालन गरिँदा उत्तर बङ्गालका रेल स्टेशनहरूलाई समावेश गर्नुपर्ने माग गरेका छन्।
थापाका अनुसार जीटीएले दिल्लीबाट मात्र १७०० आवेदन प्राप्त गरेको छ, जसमध्ये ७८ जना विपदमा परेका विद्यार्थी छन्।
‘म विश्वस्त छु, दार्जीलिङ संसदीय क्षेत्रका सांसद राजु बिष्टले यो मुद्दालाई रेल मन्त्रीसमक्ष उठाउनेछन्’, उनले थप भनेका छन्, ‘जीटीएले पहाड़का यात्रीहरूलाई पहाड़ लैजाने सबै बन्दोबस्त गर्नेछ। उनीहरूको आगमन भएपछि स्वास्थ्य जाँच गरिनेछ। त्यसपछि आवश्यकताअनुसार क्वारेन्टिन सेन्टर अथवा होम क्वारेन्टिनमा पठाउनेछ।’
अर्कोतिर थापाले एनजेपीसम्म आउने पहाड़का यात्रीहरूको नामको सूची साझा गर्ने अनुरोधसमेत गरेका छन्, ताकि जीटीएले उनीहरूलाई एनजेपीबाट पहाड़सम्मको यात्राको व्यवस्था गर्न सकोस्।
यसैगरी रेल मन्त्रालयको तर्फबाट सांसद बिष्टले जीटीएलाई यात्रीहरूका सूची र विवरण साझा गर्नेछन् भन्ने पनि उनले अपेक्षा राखेका छन्।
यसैबीच, जीटीए बीओएका अध्यक्ष थापाले लकडाउनका कारण सिक्किममा अड़्केर बसेका दार्जीलिङ पहाड़का मानिसहरूलाई घर फर्काउन जीटीएले सिक्किम सरकारसँग कुराकानी गरिसकेको र हिजो त्रिवेणीमा पनि यससम्बन्धमा आफूले खुलस्त पारेको बताएका छन्।
‘मलाई थाह छ, तपाईंहरू घर फर्कन कति उत्सुक र बेचैन हुनुहुन्छ। हामी तपाईंहरूलाई चाँड़ोभन्दा चाँड़ो घर फर्काफने तर्खरमा छौं’. अनितले थप भनेका छन्, ‘पहाड़वासीलाई घर फर्काउने जुन सरकारी प्रोटोकल पालन गर्नुपर्छ। त्यसका लागि दार्जीलिङ अनि कालेबुङ जिल्लाका जिल्लापालसँग हामीले विस्तृत रूपमा विचार विमर्श गरिसकेका छौं।’
उनका अनुसार यसका लागि जीटीएले कार्यकारी निदेशक साम्देन डुक्पालाई नियुक्त गरेको र उनले राज्यका नोडल अफिसर र अन्य अधिकारीहरूसँग संयोजन गर्ने कार्य गर्नेछन्।