स्कूल फी माफी गर, तर शिक्षकहरूको वेतन भुक्तान गर : एसएफआई

0
1290

दार्जीलिङ, 11 मईः स्कूलहरूले विद्यार्थीहरूबाट लकडाउनअवधिको स्कूल फी माफी गरिदिनुपर्ने, तर शिक्षक-शिक्षिकाहरूको वेतन कुनै पनि स्थितिमा भुक्तान गर्नुपर्ने बामपन्थी विद्यार्थी सङ्गठन एसएफआईले माग गरेको छ।

आज यसै माग विषय लिएर एसएफआई र डीवाईएफआईको एक प्रतिनिधि टोलीले दार्जीलिङ जिल्ला प्रशासनलाई एक ज्ञापन दिएको छ।

यति मात्रै होइन, बामपन्थी विद्यार्थी सङ्गठन एसएफआईले दार्जीलिङ र कालेबुङ जिल्लाबाट देशका अन्य राज्यमा पढ्न गएका विद्यार्थीहरूलाई आ-आफ्नो घर फर्काउनका लागि उचित व्यवस्था गरिदिनुपर्ने पनि जिल्ला प्रशासनसमक्ष माग गरेको छ।

यसबारे एसएफआई दार्जीलिङ जिल्ला कमिटी अध्यक्ष सागर शर्माले भने, ‘‘हाल कोरोना सङ्क्रमणको कारण देशमा लकडाउन चलिरहेको छ। देशभरिका शैक्षिक प्रतिष्ठानहरू बन्द अवस्थामा छन्, विद्यार्थीहरू घरमा बस्न बाध्य बनिरहेका छन् अनि उनीहरूका अभिभावकहरूले आर्थिक महासङ्कटको सामना गरिरहेका छन्। यस्तो अवस्थाबीच धेरैवटा निजी स्कूलले विद्यार्थीहरूका अभिभावकहरूलाई वाट्सएप, ई-मेल तथा अन्य माध्यमबाट स्कूल फी सम्बन्धित ब्याङ्कहरूमा बुझाउने दबाउ दिइरहेका छन्।‘’

यद्यपि, शर्माले स्कूलहरूको नाम बताउन नचाहे पनि पहाड़का धेरैवटा निजी स्कूलले यसो गरिरहेको आरोप लगाएका छन्।

यदि स्कूलहरूले विद्यार्थीहरूबाट स्कूल फी नलिए, ती स्कूलहरूले आफ्ना शिक्षक-शिक्षिका साथै अशिक्षण कर्मचारीहरूको वेतन कसरी भुक्तान गर्छन्? भन्ने प्रश्‍नको उत्तरमा एसएफआई जिल्ला अध्यक्ष शर्माले भने, ‘‘यसको जिम्मा स्वयं स्कूलहरूको हो। यसका लागि स्कूलहरूले सरकारसित पनि कुरा गरेको उचित हुनेछ।‘’

उल्लेखनीय छ, गत केही दिनअघि मात्रै दार्जीलिङका सांसद राजु बिष्टले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीसमक्ष स्कूलहरूलाई शिक्षक-शिक्षिकाहरूको मासिक वेतन भुक्तान गर्नका लागि आर्थिक सहयोग प्रदान गर्ने अपील गरेका थिए। ताकि यी स्कूलहरूले विद्यार्थीका अभिभावकहरूबाट लिइने स्कूल फी साथै विद्यार्थीहरूको गाड़ी भाड़ामा छूट दिन सकोस्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here