सहयोगको माग गर्दै दार्जीलिङ गोर्खा होटल एजेन्ट एसोसिएशन

0
1103

दार्जीलिङ, ११ जूनः दार्जीलिङ गोर्खा होटल एजेन्ट एसोसिएशनले वर्तमान समयमा आफ्ना सदस्यहरूलाई गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए), दार्जीलिङका सांसद, विधायक तथा अन्य राजनीतिक पार्टीहरूले सहयोग प्रदान गरोस् भन्ने चाहेको छ।

एसोसिएशनका अनुसार होटलहरूमा पर्यटक लगेर आफ्नो घर चलाउने दार्जीलिङका 440 जना होटल एजेन्ट हाल पूर्णरूपले बेरोजगार बनिसकेका छन्।

यसैले उनीहरूलाई जीटीए तथा अन्य निकायहरूले सहयोग गर्नुपर्ने उनीहरूको माग छ।

यसै विषय लिएर एसोसिएशनका अध्यक्ष सोनाम शेर्पाले भने, ‘‘कोरोना सङ्क्रमणको कारण हाल दार्जीलिङको पर्यटन व्यवसायसँगै होटल व्यवसाय पनि नराम्रो घतले प्रभावित बनिरहेको छ। जसको सबैभन्दा ठूलो मार होटल एजेन्टहरूमाथि परिरहेको छ।‘’

उनका अनुसार यी एजेन्टहरू सबै होटलहरूमा पर्यटक लाने काममा निर्भरशील थिए। यसैबाट यी एजेन्टहरूका घर संसार चलिरहेको थियो। तर आज यी होटल एजेन्टहरू पूर्णरूपले बेरोजगार बनिसकेका छन्, आय-आर्जनको बाटो पूर्णरूपले बन्द भएको उनले बताएका छन्।

‘‘कोभिड-19-को कारण मर्कामा परेका जनतालाई केन्द्र सरकार अनि राज्य सरकारले पनि सहयोग प्रदान गरिरहेका छन्। तर दार्जीलिङका होटल एजेन्टहरूले अहिलेसम्म कतैबाट सहयोग प्राप्त गर्न सकेका छैनन्’’, एसोसिएशनका अध्यक्ष शेर्पाले थपे, ‘‘हामी सबै पर्यटकहरू यहाँ आए मात्रै कमाइ गर्ने मानिसहरू हौं। अब कहिले कोरोना सङ्क्रमण कम्ती हुने, दार्जीलिङमा पर्यटक आउने अनि हाम्रो पनि कमाई हुने? यसमा कुनै निश्‍चितता छैन।’’

उनले थपे, “होटल मालिक सङ्गठन, जीटीए अनि कर्मचारी सङ्गठनहरूको बैठक भएपछि होटल मालिकहरूले आफ्ना कर्मचारीहरूलाई केही हदसम्म भए पनि वेतन दिने निर्णय लिएका छन्। तर, होटल एजेन्टहरूको विषयमा सोचिदिने कोही छैन। हालसम्म होटल एजेन्टहरूले आफ्नै भरमा जीवन अघि बढ़ाइरहेका थिए, तर अब यसलाई अघि बढ़ाउने स्थिति पनि छैन।’’

यसैले होटल एजेन्ट एसोसिएशनको कोषमा सङ्ग्रह भएको राशिबाट नै केही सदस्यलाई खाद्य सामग्री, ग्यास चुल्हा आदि प्रदान गर्ने कार्य गरिएको उनले बताए।

“तर यो सङ्गठन सधैंभरि आफ्ना सदस्यहरूलाई सहयोग प्रदान गर्ने अवस्थामा पनि छैन’’, दार्जीलिङ गोर्खा होटल एजेन्ट एसोसिएशनका अध्यक्ष सोनाम शेर्पाले थपे, “यसैकारण अब होटल एजेन्टहरूलाई सहयोग प्रदान गर्न जीटीए तथा यहाँका निर्वाचित जनप्रतिनिधिहरू अघि आउनपर्छ।’’

करिब 65 वर्षे शेर्पाले दैनिक रोजगारी गरेर कमाउने स्थितिमा पनि आफू नरहेको बताउँदै आफूहरूलाई सहयोग प्रदान गर्न जीटीएलाई पत्राचार गर्ने योजना बनाएको बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here