सुनिलका 74 अन्तर्राष्ट्रिय गोल, कुन देशविरुद्ध कति?

0
1002

सुनिल छेत्री अर्थात् भारतीय फुटबलका लिजेन्ड। सामान्य कदका ठूला खेलाड़ी। गोल गर्नमा खप्पिस। जहिल्यै गोलका भोका। उमेरलाई मिहिनेतले जितेका फूर्तिला पनि उस्तै।

36 पुगे तर 26 –का जस्तै खेलिरहेका छन्। क्याप्टन इन् फ्रन्ट। अवश्यै सुनिल अहिले फुटबल करिअरकै उत्तरार्धमा छन्। तर, आज पनि उनले पहिल्यैजस्तै गोल गरिरहेका छन्। गोलकै लागि धपेडी गरिरहेका छन्।

भारतीय फुटबलमा सुनिल जतिबेला उदाए, त्यसबेला भाइचुङ भोटिया ठूलो नाम थियो। भाइचुङ भारतीय फुटबलका आइकन। लिजेन्ड लिडर। उनले भारतीय फुटबलका लागि जे जति गरे, त्यो बखान गर्न सकिँदैन। शब्द अपुग हुन्छ।

भाइचुङ र सुनिलले सँगै केही अन्तर्राष्ट्रिय म्याच खेले। मिलेर दुवैले टिमलाई जिताए। सफलता मिलेर उचाले। तर, भाइचुङ भोटियाले 2011-मा फुटबलबाट सन्न्यास लिएपछि सुनिल एक्लिए।

भाइचुङले देखाइराखेको सफलताको बाटोलाई खनेर सुनिलले अहिले राजमार्ग बनाएका छन्। यो राजमार्गलाई थप चौड़ादार बनाउन उनले बिर्सेका छैनन्। लगातार लागिरहेका छन्। सफलताले गमक्क गम्किएर गोल गर्न बिर्सेका छैनन्।  ‘कप्तानगिरी’ देखाइरहेकै छन्। टिमलाई थुप्रै जीत दिलाइरहेका छन्। उपाधि उचालिरहेका छन्।

जब जब टिमलाई खाँचो पर्छ, तब तब उनी चम्किने गरेका छन्। हारको स्थितिबाट टिमलाई बचाएर जिताइरहेका छन्।

केही दिनअघि विश्वकप छनौट चरणको खेल बङ्ग्लादेशविरुद्ध थियो। कुरा 7 जूनको। जित्नै पर्ने खेल। दोहाको जसिम बिन हमद स्टेडियममा खेलिएको यो खेलमा सुनिलले महत्त्वपूर्ण दुई गोल गरी टिमलाई जीत दिलाए। यो जीतसँगै समूह ‘ई’-मा रहेको टिम इन्डिया 7 खेलमा 6 अङ्कसहित तेस्रो स्थानमा रहेको छ। भारतले अब अर्को खेल अफगानिस्तानविरुद्ध खेल्नेछ।

बङ्ग्लादेशविरुद्ध सुनिलले गरेका दुवै गोल ‘रेकर्ड’ गोल थिए। 117 अन्तर्राष्ट्रिय खेलमा उनको कुल गोल सङ्ख्या 74 पुगेको छ।

यससँगै सुनिल अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने सक्रिय खेलाड़ी (एक्टिभ फुटबलर)-को सूचीमा दोस्रो स्थानमा उक्लेका छन्। महत्त्वपूर्ण कुरा के छ भने सुनिलले अन्तर्राष्ट्रिय गोल सङ्ख्यामा विश्व फुटबलकै सार्वकालिक महान् खेलाड़ीमध्ये एक लियोनल मेस्सीलाई पनि पछि पारेका छन्।

मेस्सीसँग सुनिलको तुलना हुनसक्तैन; यो सत्य हो। तर, अहिले अन्तर्राष्ट्रिय गोल सङ्ख्याको गणना र रेकर्डमा मेस्सीभन्दा सुनिल अघि छन्, यो पनि सत्य हो।

भारतमा अहिले पनि फुटबलका लागि समुचित पूर्वाधारको विकास भएको छैन (अन्य देशहरूका तुलनामा)। भारतमा क्रिकेटकै ढलीमली चल्छ। सबैतिर क्रिकेट नै हाबी छ। कतिसम्म भने फुटबल टिमका कप्तानले हात जोड़ेर दर्शकहरूलाई स्टेडियमसम्म आइदिने अनुरोध गर्नुपर्छ।

यस्तो विषम चट्टाने परिस्थिति बिचबाट ‘दूबो’ उम्रेका हुन्-सुनिल भाइचुङ, अनिरुद्ध र आईएम विजयनहरू।

यस अर्थले नै सुनिलको सफलता सगरमाथा नै हो।

सबैभन्दा ठूलो कुरा सुनिलले अन्तराष्ट्रिय खेलमा यी गोलहरू केवल आफूभन्दा कमजोर टिमविरुद्ध मात्र गरेका होइनन्। बलिया र विश्वकप खेलिसकेका टिमविरुद्ध पनि उसैगरी गोल लगाएका छन्। त्यस्ता बलिया टिमहरूको नामै लिनपर्दा दक्षिण कोरिया, क्यामरून, सिरिया, न्युजिल्यान्ड, भियनाम आदि छन्।

सुनिलले कुन देशविरुद्ध कति गोल गरेका छन्? हेरौँ-

-चाइनिस ताइपेविरुद्ध 5 खेलमा 6 गोल।

-मालदिभ्सविरुद्ध 5 खेलमा 6 गोल।

 -नेपालविरुद्ध 8 खेलमा 5 गोल।

-बङ्ग्लादेशविरुद्ध 4 खेलमा 5 गोल।

-ताजिकिस्तानविरुद्ध 5 खेलमा 5 गोल।

-केन्याविरुद्ध 2 खेलमा 4 गोल।

-कम्बोडियाविरुद्ध 2 खेलमा 3 गोल।

-किर्गिस्तानविरुद्ध 3 खेलमा  3 गोल।

-म्यान्मारविरुद्ध 4 खेलमा 3 गोल।

-भूटानविरुद्ध 2 खेलमा 3 गोल।

-अफगानिस्तानविरुद्ध 6 खेलमा  3 गोल।

-भियतनामविरुद्ध 1 खेलमा 3 गोल।

-गोअमविरुद्ध 3 खेलमा 3 गोल।

-सिरियाविरुद्ध 6 खेलमा 2 गोल।

-लेबनानविरुद्ध 3 खेलमा 2 गोल।

-मलेशियाविरुद्ध 3 खेलमा 2 गोल।

-ओमानविरुद्ध 5 खेलमा 2 गोल।

-थाइल्याण्डविरुद्ध 3 खेलमा 2 गोल।

-श्रीलङ्काविरुद्ध 3 खेलमा 1 गोल।

-बहराइनविरुद्ध 2 खेलमा 1 गोल।

-दक्षिण कोरियाविरुद्ध 1 खेलमा 1 गोल।

-पाकिस्तानविरुद्ध 6 खेलमा 1 गोल।

-क्यामरूनविरुद्ध 1 खेलमा 1 गोल।

-फिलिपिन्सविरुद्ध 2 खेलमा 1 गोल।

-प्यालेस्टाइनविरुद्ध 2 खेलमा 1 गोल।

-पोर्टो रिकोविरुद्ध 1 खेलमा 1 गोल।

-मकाउविरुद्ध 2 खेलमा 1 गोल।

-न्युजिल्यान्डविरुद्ध 1 खेलमा 1 गोल।

-कुराकाओविरुद्ध 1 खेलमा 1 गोल।

-उत्तर कोरियाविरुद्ध 2 खेलमा 1 गोल।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here