मुकुलको ‘घर फिर्ता’, भाजपालाई ठूलो धक्का

0
947

कोलकाता, 11 जूनः पूर्वानुमानलाई सठिक प्रमाणित गर्दै बङ्गालका दिग्गज नेता मुकुल राय र उनका छोरा शुभ्रान्शु राय आज तृणमूल कङ्ग्रसमै फर्किआएका छन्।

पछिल्लो विधानसभा चुनाउमा भाजपाको नराम्रो हारसँगै मुकुल पार्टीको सम्पर्कबाट टाढ़िँदै गइरहेका थिए, जसका कारण उनको ‘घर फिर्ता’-को चर्चा पनि चुलिएको थियो।

आज सबै अनुमानलाई विराम लगाउँदै  मुकुल र उनका छोरा तृणमूल कङ्ग्रेसमा फर्केर भाजपालाई ठूलो धक्का दिएका छन्। किनभने मुकुल भाजपाका राष्ट्रिय उपाध्यक्ष मात्र थिएनन् तर, बङ्गालमा भाजपाका प्रभावशाली नेता पनि थिए।

आज राज्यकी मुख्यमन्त्री एवं तृणमूल सुप्रिमो ममता ब्यानर्जीको उपस्थितिमा कोलकातास्थित तृणमूल भवनमा उनले तृणमूल कङ्ग्रेसको झण्डा समातेका हुन्।

ममताले उनलाई झण्डा प्रदान गरी दलमा स्वागत गरेकी हुन्। मुकुलसँगै उनका छोरो एवं पूर्व विधायक शुभ्रान्शु राय पनि आज तृणमूल कङ्ग्रेसमा सामेल भए।

वास्तवमा चुनाउ परिणामपछि नै मुकुल र उनका छोरो तृणमूल कङ्ग्रेसमा फर्किने अनुमान चुलिएको थियो।

उल्लेखनीय छ, मुकुल तृणमूल कङ्ग्रेसका संस्थापक सदस्य हुन्। कुनै समय उनी ममता ब्यानर्जीकै सबैभन्दा नजिकका मानिन्थे। यद्यपि मतभेदका कारण केही समय तृणमूल कङ्ग्रेसबाट आफूलाई टाढ़ा राखेपछि सेप्टेम्बर 2017 मा उनले राजीनामा दिएर नोभेम्बर 2017-मा भाजपाको झण्डा समातेका थिए।

मुकुलले भाजपाको टिकटमा नदियाको कृष्णानगर उत्तरबाट चुनाउ जितेर विधायक निर्वाचित भएका छन्। यद्यपि उनका छोरो शुभ्रान्शु भने बीजपुरबाट चुनाउ हारे।

अर्कोतिर, तृणमूलमा सामेल हुनअघि मुकुल र ममता ब्यानर्जीबिच तृणमूल भवनमा अपराह्न लामो बैठक सम्पन्न भएको थियो।

यो बैठकमा अभिषेक ब्यानर्जी पनि उपस्थित थिए। अभिषेकलाई भर्खरै तृणमूल कङ्ग्रेसका राष्ट्रिय महासचिव बनाइएको छ।

उल्लेखनीय छ, चुनाउअघि तृणमूल कङ्ग्रेसबाट भाजपामा सामेल भएका धेरै नेता चुनाउ परिणामपछि अहिले तृणमूल कङ्ग्रेसमै फर्किन खोजिरहेका छन्।

सूत्रका अनुसार बङ्गाल भाजपामा सुवेन्दु अधिकारीको प्रभाव बढ़ेकै कारण मुकुल रायले भाजपा छोड़ेर पुरानो दलमा फर्केका हुन्। सुवेन्दुलाई भाजपाले विपक्षी नेता पनि बनाएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here