कालेबुङ, 11 जुलाई : बुधवार दिउँसो पर्यटक सवार इनोभा सोझै टिस्टामा खस्दा बेपता हुनेहरूको सङ्ख्या तीन होइन, तर चार रहेको बिहीवार पुष्टि भएको छ।
दुर्घटनाको शिकार बनेका पर्यटकहरूका परिवार आज राजस्थानबाट सिलगढ़ी आइपुगेपछि उक्त इनोभा वाहनमा चालक राकेश राईसहित चारजना सवार रहेको पुष्टि भएको हो।
उनीहरूका अनुसार दुर्घटनाका शिकार भएका पर्यटकहरूको नाम अमन गर्ग, गौरव शर्मा र गोपाल नरवानी हो। गौरव शर्माका भाइ आकाश शर्माका अनुसार यी तीनैजना एक अफिशियल टुरका लागि आएका थिए। शर्माका अनुसार आफ्ना दाजुसहित तीनैजनासँग हिजो बिहान उनको टेलिफोनिक कुराकानी भएको थियो। तर, अपरान्हदेखि तीनैजनाको फोन बन्द छ।
हिजोसम्म वाहनमा केवल दुईजना पर्यटक रहेको अनुमान लगाइएको थियो। पर्यटक बोकेर सिलगढ़ीबाट गान्तोकबाट गइरहेको डब्ल्यूबी 73 ई 2940 नम्बरको उक्त इनोभाले जसै बाघपुल पार गऱ्यो, अनियन्त्रित भई सोझै टिस्टा नदीमा खसेको थियो। सूत्रका अनुसार उनीहरू बाघडुग्रा हवाईअड्डाबाट उक्त इनोभामा सवार भई गान्तोकतर्फ गइरहेका थिए।
हिजोदेखि एनडीआरएफका करिब 40 जवान राफ्टिङ टीमको सहयोगमा वाहन र बेपता बनेका पर्यटकहरूको खोजीमा लागिपरेको छ। यद्यपि टिस्टाको जलस्तर अत्यधिक रहेको र निरन्तर राजमार्गमा पैह्रोको कारण धमिलो पानीको कारण खोजी कार्य पटक-पटक बाधित भइरहेको छ।
आज एनडीआरएफको टीमले स्पीड बोटको सहयोगले बेपता वाहन र पर्यटकहरूलाई खोज्ने कोशिश गरिरहेको छ। यद्यपि यो समाचार लेखिञ्जेलसम्म वाहन र यात्रुको कुनै पत्तो लाग्नसकेको थिएन।
उल्लेखनीय छ, दुर्घटनास्थलबाट ती पर्यटकहरूको एउटा ट्रली ब्यागसहित चालक राकेश राईका परिचय-पत्रहरू बरामद भएका थिए। जानकारीका अनुसार उक्त इनोभा दुर्घटनामा परेको समय राष्ट्रिय राजमार्गमा पैह्रोको कारण दुवैतर्फ वाहनहरूको लामो ताँती लागेको थियो। लेदो जमिएको कारण सड़क चिप्लो बनेको छ। चक्का लेदोमा चिप्लिएकै कारण पर्यटक बोकेको उक्त इनोभा सोझै टिस्टामा खसेको जाममा फँसेका प्रत्यक्षदर्शीहरूले बताएका छन्।