कालेबुङ, 11 जुलाईः कालेबुङका विधायक रुदेन सादा लेप्चाले विमल गुरुङलाई ‘राजनीतिक प्रकोप’ बताएका छन्।
आज कालेबुङमा पत्रकारहरूलाई सम्बोधन गर्दै उनले विमललाई ‘राजनीतिक प्रकोप’ अर्थात् ‘पोलिटिकल डिजास्टर’-को संज्ञा दिएका छन्।
यति मात्र होइन रुदेनले विमल गुरुङमाथि तीखो कटाक्ष गर्दै ‘विमलले गर्ने राजनीतिलाई फोटो बेचुवा राजनीति’ बताए।
अर्कोतिर, विमलपन्थी मोर्चाको प्रतिनिधि टोलीले कोलकातामा राज्यका मन्त्री र तृणमूल कङ्ग्रेसका शीर्षस्थ नेताहरूलाई भेट गरी फोटो खिचिरहे तापनि यो भेटवार्ता र फोटो खिचाइले कुनै फाइदा पहाड़ले नपाउने उनको दावी छ। किनभने 2017 पछि फोटो खिच्ने यो प्रक्रियालाई हामीले राष्ट्रियस्तरमा देख्यौँ, अहिले राज्यस्तरमा आएको रुदेनले बताए।
उनको दावीका अनुसार रोशन गिरीहरूले राज्यका मन्त्री र तृणमूल कङ्ग्रेसका शीर्षस्थ नेताहरूसँग गरिरहेका भेटवार्ता सामान्य भेटवार्ता मात्र हो। कूटनीतिक भेटवार्ता होइन।
यसैगरी पछिल्लो चुनाउले आतङ्कको राजनीति चल्दैन भन्ने प्रमाण गरेपछि नै अहिले विमल गुरुङ पहाड़को राजनीतिमा तेस्रो पङ्क्तिमा उभिएको उनको भनाइ छ।
अर्कोतिर, पहाड़ र तराई-डुवर्सका गोर्खाबाहुल क्षेत्रमा प्रभाव छ भन्ने सोचेर राज्यले विमल गुरुङलाई प्रयोग गरेको तर त्यो प्रयोगमा उनी असफल भएको बताउँदै विधायक रुदेन सादा लेप्चाले विमल गुरुङले बोलेका कुराहरू ममता ब्यानर्जीको कानमा समेत नपुगेको ठोकुवा गरे। यति मात्र होइन, भाजपाले पहाड़ र गोर्खाका लागि केही गर्ने छैन भन्ने जानेर अघिबाटै विमल राज्य सरकारसँग मिलेर काम गरेको भए पहाड़को स्थिति आज यस्तो नभएर धेरै विकास भइसक्ने पनि उनको ठोकुवा छ।