सिलगढ़ी, 11 अगस्त : आइतवार आफ्नो संसदीय क्षेत्र आइपुगेका दार्जीलिङका सांसद राजु विष्टले गोर्खाल्याण्ड संवैधानिक माग रहेको बताएका थिए। यसका साथै विष्टले भारतीय जनता पार्टी गोर्खाहरूको साथमा रहेको पनि दाबी गरे। उनी आज सोझै दुर्गापुरबाट सिलगढ़ी आइपुगेका थिए।
यसअवधि उनले पत्रकारहरूसँग कुराकानी पनि गरे। विष्टका अनुसार भारतीय जनता पार्टीले आफ्नो सङ्कल्प पत्रमा दार्जीलिङ पहाड़को स्थायी राजनीतिक समाधानलगायत गोर्खा समुदायका 11 जातगोष्ठीलाई जनजातिको मान्यता दिलाउने प्रतिबद्धता जताएको छ। “दार्जीलिङ पहाड़मा अन्याय-अत्याचार धेर दिनसम्म चल्नेछैन”, उनले भने।
यसैबीच, विष्टले दार्जीलिङको स्थायी राजनीतिक समाधानका लागि भाजपासँग इच्छाशक्ति रहेको पनि बताएका छन्। “हामीले हाम्रो सङ्कल्प पत्रमा दार्जीलिङको स्थायी राजनीतिक समाधानको कुरालाई सामेल गरेका छौं। मैले यो विषयलाई संसदभित्र 377 अन्तर्गतको नियममा र शून्यकालमा पनि कुरा उठाइसकेको छु”, विष्टले थपे, “मलाई लाग्छ, हाम्रो पार्टी यसका लागि सक्षम छ। धारा 370 लाई लिएर भएका सबै काम हामीले देखेका छौं। हाम्रो पार्टीमा इच्छाशक्ति छ। त्यसैले मलाई लाग्छ, आगामी दिनमा दार्जीलिङ पहाड़को स्थायी राजनीतिक समाधान हुनेछ।”
उनले यसका लागि चाँड़ै राजनीतिक वार्ता शुरु हुनुपर्ने माग पनि उठाइसकेको बताए। उनका अनुसार वार्ता केन्द्र, राज्य सरकारसँगै दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका जनप्रतिनिधिहरूबीच हुनुपर्छ। यसो गरेको खण्डमा स्थायी राजनीतिक समाधानका लागि कुनै न कुनै समाधान अवश्यै निस्किने सांसदको भनाइ छ।
अर्कोतिर, विष्टले पुनः दार्जीलिङ पहाड़मा बङ्गाल पुलिसको अन्याय-अत्याचार र मानव अधिकार हनन्को मुद्दालाई पनि उठाएका छन्। यसका साथ ‘गोर्खाल्याण्ड’ शब्दलाई लिएर राज्यका शासक दल तृणमूल कङ्ग्रेस र पहाड़मा यसका पृष्ठपोषकहरूले ‘दुईमुखे’ राजनीति गरिरहेको आरोप लगाए। सांसद राजु विष्टको यो आरोप भर्खरै गृहमन्त्री अमित शाहले नर्थइस्ट सेललाई लिएर उनलाई पठाएको पत्रको जवाबमा उल्लिखित ‘गोर्खाल्याण्ड’ शब्दलाई लिएर तृणमूल कङ्ग्रेसले फैलाइरहेको भ्रमलाई लिएर थियो।
वास्तवमा नर्थइस्ट सेलमा दार्जीलिङका गोर्खाहरूको सामेल गरिनका लागि उनले जुन पत्र लेखेका थिए, त्यसको जवाफ दिँदै गृहमन्त्रीले लेखेको पत्रमा ‘गोर्खाल्याण्ड क्षेत्र’ उल्लेख गरेका थिए। अहिले यसै ‘गोर्खाल्याण्ड’ शब्दलाई लिएर तृणमूल कङ्ग्रेसले राजनीति गरिरहेको उनको आरोप छ।