गान्तोक, 11 अगस्तः पश्चिम सिक्किमको गेजिङ नजिकै ग्यावा मानेडाँड़ामा भएको हत्याकाण्डका आरोपी युवकलाई पुलिसले पक्राउ गरी केरकार गरिरहेको छ।
हिजो यस ठाउँमा 20 वर्षीय युवतीको निर्मम हत्या भएको थियो भने यस हत्याकाण्डका आरोपी 19 वर्षीय युवकलाई हिजै राति पुलिसले पक्राउ गरेको हो।
घटना सोमवार अपराह्न करिब 3 बजीको हो। गेजिङ नजिकै लाङगाङ रेसाम गाउँ निवासी युवकले कथित प्रेम प्रसङ्गलाई लिएर अप्पर तिग्जेक निवासी कुसमा हाङमा सुब्बाको निर्मम हत्या गरेको हो।
युवतीको शरीरमा छुरी प्रहार गरी हत्या गरिएको पुलिसले जनाएको छ। आरोपी सञ्जीत राईलाई पुलिसले हिजो राति नै उसको घरबाट पक्राउ गऱ्यो।
हाल आरोपीलाई पाँच दिनको पुलिस रिमाण्डमा राखेर केरकार शुरू गरिएको छ।
घटनाका अनुसार सोमवार कुसमा हाङमा आफ्नो आमाको स्वास्थ्य जाँच गराउन गेजिङ बजार आएकी थिइन्। आमा डाक्टरकहाँ स्वास्थ्य जाँच गराउन पसेपछि उनी कलेजको अनलाइन फारम भर्न गइन्। र बेलुकी आमासँगै घर फर्केकी थिइन्।
घरमा आइपुग्नसाथ फेरि मोबाइलको कभर उल्टा भयो, फेरेर आइहाल्ने भनी घरबाट बजार आएपछि उनी घर फर्किनन्।
यसैबीच उनलाई सड़क मुन्तिर रक्ताम्मे अवस्थामा भेटेपछि तत्कालै गेजिङ अस्पताल पुऱ्याइएको थियो, जहाँ डाक्टरहरूलाई उनलाई मृत घोषित गरे। त्यसपछि छानबिन र आरोपीको खोजीमा जुटेको पुलिसले हत्याको केही घण्टापछि नै आरोपीलाई पक्राउ गर्न सफल बनेको हो।
जानकारीका अनुसार कुशमा हाङमा सुब्बा गान्तोकको टीएन एकाडेमीबाट उत्तीर्ण भई कलेज भर्ना हुन लागेकी थिइन्। उनले मुख्यमन्त्री मेधावी छात्रवृत्तिअन्तर्गत् टीएनएमा पढ्ने अवसर पाएकी हुन्।
उनकी आमा मनमाया सुब्बाले छोरीको हत्यारालाई कठोर सजाय दिई छोरीलाई न्याय दिलाउन माग गरेकी छन्।