1 जनवरी 2016 देखि लागू हुने वेतन आयोग, चामलिङले भने- सरकारी कर्मचारीहरूले एरियरको पहिलो किस्ती दशैँअघि नै पाउनेछन्

0
1326
मङ्गलवार  राज्यका कर्मचारीहरूलाई सम्बोधन गर्दै मुख्यमन्त्री पवन चामलिङ। 

गान्तोक, 11 सेप्टेम्बर :राज्यका तमाम सरकारी कर्मचारीहरूको निम्ति मुख्यमन्त्री पवन चामलिङले आगामी दशैंमा बम्पर उपहार घोषणा गरेका छन्। राज्यका सरकारी कर्मचारीहरूले वेतन आयोगको पहिलो किस्ती दशैंअघि नै पाउने भएका छन्। 
पाँचौं वेतन आयोग 1 जनवरी, 2016 देखि नै लागू हुने मुख्यमन्त्री पवन चामलिङले आज घोषणा गरे। राजधानीको सम्मान भवनमा राज्यका तेस्रो र चतुर्थ श्रेणीका कर्मचारीहरूलाई लिएर आयोजित बैठकमा मुख्यमन्त्री चामलिङले कर्मचारीमुखी घोषणा गरेका हुन्।
स्मरण रहोस्, राज्य सरकारले यसअघि 1 जनवरी, 2017 देखि वेतन आयोग लागू हुने घोषणा गरेको थियो। मुख्यमन्त्री चामलिङले बक्यौता राशिको पहिलो किस्ती दशैंअघि नै दिने घोषणा गरेका छन्। बक्यौता राशि तीन किस्ती दिइने भएको छ। दशैंअघि ए श्रेणीका कर्मचारीहरूलाई 1.05 लाख रुपियाँ, बी श्रेणीका कर्मचारीहरूलाई 95,000 रुपियाँ, सी श्रेणीका कर्मचारीहरूलाई 50,000 रुपियाँ र डी श्रेणीका कर्मचारीहरूलाई 40,000 रुपियाँ प्रदान गरिने मुख्यमन्त्रीले घोषणा गरे। कर्मचारीहरूलाई अर्को थप उपहार दिँदै मुख्यमन्त्रीले महिनाको दोस्रो शनिवार सरकारी विदाको घोषणा गरेका छन्।
उल्लेखनीय छ, 2014 भन्दा अघि राज्यमा दोस्रो शनिवार सरकारी विदा हुने गर्दथ्यो। तर, 2014 मा एसडीएफले पाँचौंपटक सरकार गठन गरेपछि राज्य मन्त्रीमण्डलको सभाले दोस्रो शनिवारको सरकारी विदालाई छुट्टीको क्यालेण्डरबाट कटौती गरेको थियो। राज्य सरकारले कर्मचारीहरूको हितमा घोषणा गरेका भत्ताहरू पनि 1 सेप्टेम्बर, 2018 देखि लागू हुने मुख्यमन्त्रीले अर्को घोषणा गरेका छन्। राज्यका मास्टररोल कर्मचारीहरूलाई पनि खुशी बनाउँदै मुख्यमन्त्रीले उनीहरूको वेतन प्रत्येक महिनाको 1 देखि 10 तारिखभित्र दिइने बताएका छन्।
कर्मचारीहरूको बैठकलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री चामलिङले भने, “हामीले 24 वर्षदेखि सरकारी कर्मचारीहरूका हितमा कार्य गर्दै आइरहेका छौं। कर्मचारीहरूलाई निराश बनाउने काम हामीले कहिल्यै गरेका छैनौं अनि गर्दैनौं पनि। राज्य सरकारले बक्यौता राशि प्रदान गर्न राज्य कोषागारबाट 354 करोड़ रुपियाँको बोझ बोक्नुपर्नेछ। तर, हामी कर्मचारीहरूको हितमा यो भार वहन गर्न तयार छौं।” 
कर्मचारीहरूलाई अपील गर्दै मुख्यमन्त्रीले भने,“राज्य सरकारले गर्नपर्ने काम सबै गरेको छ। अब जिम्मेवारी कर्मचारीहरूको हो। जनता निराश हुने काम कर्मचारीहरूबाट हुनुहुँदैन। राज्यवासी धेरै आशा बोकेर कर्मचारीहरूका  अघि आएका हुन्छन्। उनीहरूलाई निराश नबनाई पठाउनुहोला।मुख्यमन्त्रीले अझ भने, “24 वर्षदेखि जनताको मायाले म मुख्यमन्त्री पदमा बसेको छु। मेरा निम्ति सबैभन्दा ठूला जनता नै हुन्। म जनतालाई धोका दिन सक्दिनँ, जनताले धोका पाएको पनि सहन सक्दिनँ।
मुख्यमन्त्री चामलिङले कर्मचारीहरूका हितमा धेरैवटा घोषणा गरेपछि कर्मचारीहरूमा उत्साह देखिएको छ।
सिक्किम सरकारी कर्मचारी सङ्गठन (तृतीय र चतुर्थ श्रेणी) -का अध्यक्ष साङ्गे जाङ्पो भोटिया र महासचिव राब्देन भोटियाले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, सङ्गठनले अहिलेसम्म राखेका सबै मागलाई आजको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्रीले सकारात्मक रूपमा लिएका छन् र सबै माग पूरा गरिदिने वचन दिएका छन्। हामी मुख्यमन्त्रीप्रति आभारी छौं। हामीलाई काम गर्न थप ऊर्जा प्राप्त भएको छ।
मुख्यमन्त्रीको निर्णयले राज्यका लगभग 80 हजार कर्मचारीलाई सोझै लाभ पुग्नेछ।अध्यक्ष भोटियाले अझ भने,“जुन प्रकारले सरकारले हामी कर्मचारीहरूका मागलाई पूरा गरिदिने वचन दिएको छ, उसैगरी कर्मचारीहरूले पनि अबउसो इमानदार र जिम्मेवार भएर सरकारको विकास र जनसेवाको कार्यमा सक्रियता ल्याउनुपर्ने आवश्यकता छ। हामी कर्मचारीहरूलाई अपील गर्दछौं-सरकारी कर्मचारीहरू पनि जनमुखी भइदिउन् अनि मुख्यमन्त्रीले देखेको कर्मचारीमुखी प्रशासनिक व्यवस्था स्थापित गरिदिउन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here