सिक्किमकै पहिलो र एकमात्र हवाई अड्डा पाकिम हवाईअड्डा, जसको उद्घाटन 23 सेप्टेम्बरको दिन प्रधानमन्त्रीले गर्नेछन्। |
गान्तोक, 11 सेप्टेम्बरः राज्यको पहिलो हवाई अड्डा ‘पाकिम’-को आधिकारिक उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदीका बाहुलीबाट हुने भएको छ। आगामी 23 सेप्टेम्बरका दिन उद्घाटन कार्यक्रममा सरिक हुन प्रधानमन्त्री मोदी स्वयं सिक्किम आउँदैछन्। गान्तोकबाट लगभग 30 किलोमिटरको दूरीमा अवस्थित पाकिम ग्रीन फिल्ड हवाई अड्डा 23 सेप्टेम्बर उद्घाटन हुने भए पनि यसको सञ्चालन भने 8 अक्टोबरबाट मात्र हुनेछ।
भारतीय जनता पार्टी सिक्किम एकाइका अध्यक्ष डीबी चौहानले प्रधानमन्त्री मोदीको सिक्किम भ्रमणबारे जनसंवादलाई जानकारी दिँदै भने, “प्रधानमन्त्री आगामी 23 सेप्टेम्बरको दिन सिक्किम आउने तय भएको छ। यस सम्बन्धमा आज प्रधानमन्त्री कार्यालयबाट मलाई फोन आएको छ। सोही दिन नै प्रधानमन्त्री दिल्ली फर्किने कार्यक्रम छ।
प्रधानमन्त्रीले त्यसदिन पार्टीको कुनै पनि कार्यक्रममा अंशग्रहण गर्ने समयतालिका छैन।” प्रधानमन्त्रीको भ्रमणलाई लिएर राज्य सरकारका एक उच्च अधिकारीले भने, “हामीले प्रधानमन्त्रीको 23 सेप्टेम्बरको भ्रमणलाई लिएर आज एउटा प्राथमिक सूचना प्राप्त गरेका छौं। राज्य सरकारको गृह विभागले उनको भ्रमणको सबै तयारी शुरु गरिसकेको छ। प्रधानमन्त्रीको भ्रमणलाई हामी सफल बनाउनेछौं। उनको भ्रमणको कार्यक्रमबारे आधिकारिक रूपमा केही चिट्ठी नआए तापनि प्रधानमन्त्री आउने निश्चित हो।”
उनले अझ भने, “हामीलाई प्रारम्भिक सूचना प्राप्त भएको छ। तर प्रधानमन्त्रीको सुरक्षाका लागि आज नै राज्यमा एसपीजीका जवानहरू आइपुगेका छन्।” प्राप्त सूचना अनुसार, प्रधानमन्त्रीसँग नागरिक उड्डयन मन्त्री सुरेश प्रभु पनि सिक्किम आउने भएका छन्।
उल्लेखनीय छ, राज्य सरकारले सिक्किमको पहिलो हवाई अड्डाको उद्घाटन प्रधानमन्त्रीकै बाहुलीबाट होस् भन्ने सदिच्छा राखेको थियो। मुख्यमन्त्री पवन चामलिङले आफ्नो दिल्ली भ्रमणअवधि प्रधानमन्त्रीलाई यसबारे बारम्बार आग्रह पनि गर्दै आएका थिए भने सार्वजनिक समारोहतिर प्रधानमन्त्रीकै बाहुलीबाट पाकिम हवाई अड्डाको उद्घाटन गर्ने अठोट पनि प्रकट गर्दै आएका थिए।