दार्जीलिङ, 11 सेप्टेम्बर : वर्णमाला परिवार र पाइला एड्भेञ्चर एण्ड वेलफेयर सोसाइटीले टिस्टा र रङ्गीतको सङ्गमस्थल त्रिवेणी परिसरलाई प्लास्टिकमुक्त बनाउने अभियान शुरु गर्ने निर्णय गरेका छन्। यो अभियान आउँदो 14 र 15 सेप्टेम्बर गरी दुईदिन चल्नेछ।
वर्णमाला परिवारका संस्थापक देवाशिष मोथेका अनुसार त्रिवेणी परिसरलाई प्लास्टिकमुक्त बनाउने अभियानका लागि करिब 200 स्वयंसेवी तयार भइसकेका छन्। उनका अनुसार अभियान शुरु गर्नअघि त्रिवेणीमा धामी-झाँक्रीहरूद्वारा पूजा अर्चना गरिनेछ। पूजा अर्चनापछि त्रिवेणी परिसरलाई प्लास्टिकमुक्त बनाउने महत् अभियानमा सहभागी स्वयंसेवीहरू जुट्नेछन्।
अभियानको थालनी धामी-झाँक्रीद्वारा पूजाबाट गरिने सन्दर्भमा सोधिएको एक प्रश्नको उत्तरमा मोथेले बताएअनुसार टिस्टा मृततुल्य भइसकेको छ। मैलाले ढाकिसकेको छ, जसको कारण टिस्टाका माछाहरूको छालामा पनि एकप्रकारको रोग देखा पर्नथालेको छ। यसैले यस स्थानमा पुनः प्राणप्रतिष्ठा गर्न आवश्यक छ, यसैले दार्जीलिङ पहाड़का केही धामी-झाँक्रीको मन्त्रोच्चारण अनि पूजा-पाठद्वारा यहाँको वातावरण शुद्ध पार्ने योजना बनाइएको हो। यसो गरेसकेपछि सफाइ अभियान शुरु गरिनेछ।
उनका अनुसार यो सफाइ अभियानअवधि त्रिवेणी परिसरमा टिस्टा हाइवे क्षेत्र प्रतिभाशाली बालक-बालिका, युवक-युवतीहरूले आफ्नो प्रतिभा पनि प्रदर्शन गर्नेछन्। यसको अर्थ एकातिर त्रिवेणी परिसरका प्लास्टिकजन्य र अन्य फोहोरहरू सफाइ गर्ने कार्य भइरहेको हुनेछ भने अर्कोतिर नाच-गान, कविता वाचन पनि चलिरहनेछ।
यसैले अभियानको दोस्रो दिन अर्थात् 15 सेप्टेम्बरको दिन दार्जीलिङ पहाड़भरिका कवि, गायक-गायिका आदिलाई पनि आ-आफ्ना कविता, गीत आदि बोकेर त्रिवेणी परिसरमा उपस्थित भइदिने आयोजक समितिले निम्तो गरेको छ। यद्यपि कार्यक्रममा सहभागी हुने कवि गायकहरूले टिस्टा, त्रिवेणी अथवा पर्यावरणसम्बन्धी रचना मात्र प्रस्तुत गर्न पाउनेछन्। आयोजक समितिले राखेको यो एउटा शर्त हो।
‘‘विशेष गरी आम मानिसहरूमा जनचेतना फैलाउने उद्देश्यले नै वर्णमाला परिवार र पाइला एड्भेञ्चर एण्ड वेलफेयर सोसाइटीले यो कार्यक्रमको आयोजना गर्ने तय गरेका हुन्। ताकि हाइवे भएर यात्रा गर्ने पर्यटक, स्थानीय जनताले पनि टिस्टामा कुनै प्रकारको प्लास्टिकजन्य सामानहरू नफ्याँकिदिउन्’’, उनले भने, ‘‘हाइवे भएर ओहोर-दोहोर गर्ने यात्रीहरूले गाड़ीबाट प्लास्टिकका बोतल तथा अन्य सामानहरू टिस्टा नदीमा नै फ्याँकिदिन्छन्। जसको कारण यो नदी प्रदूषित बनेको छ। यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ, प्लास्टिकलाई कसरी एक स्थानमा सङ्ग्रह गरेर रिसाइकल गर्न सकिन्छ भन्ने विषय लिएर नै 15 सेप्टेम्बरको दिन चर्चा-परिचर्चा गरिनेछ।’’
उनले जानकारी गराएअनुसार यस चर्चा कार्यक्रममा पर्यावरणमाथि काम गरिरहेका विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधिहरूलाई पनि निम्ताइएको छ। ‘‘प्रथमतः मानिसहरूमा यो हाम्रो ठाउँ, हाम्रो सम्पत्ति हो भन्ने भावना जागृत हुन आवश्यक छ। यस्तो भावना प्रत्येकको मनमा जागे मात्रै यो ठाउँ असल बन्नेछ’’, वर्णमालाका संस्थापक देवाशिष मोथेले थपे, ‘‘यसै विषयलाई केन्द्र गरेर नै वर्णमाला परिवार र पाइला एड्भेञ्चर एण्ड वेलफेयर सोसाइटीले यो कार्यक्रमको आयोजना गर्ने तय गरेका हुन्।’’ टिस्टालाई प्लास्टिक प्रदूषणमुक्त बनाउने विषय लिएर यी दुई सङ्गठनले जिल्ला प्रशासनलाई पनि ज्ञापन दिने योजना बनाएको मोथेले थप जानकारी गराएका छन्।