विश्व पर्यटन दिवसको अवसरमा दार्जीलिङ उत्सव

0
1458

दार्जीलिङ, 11 सेप्टेम्बर : आगामी  20 देखि 27 सेप्टेम्बरसम्म 7 दिनव्यापी दार्जीलिङ उत्सव आयोजन गरिने जीटीएका प्रशासक अनित थापाले जानकारी गराएका छन्। थापाले बुधवार एक प्रेसविज्ञप्ति जारी गरी यसबारे जानकारी गराएका हुन्।

उनका अनुसार उत्सवमा दार्जीलिङ पहाड़को सुन्दरता र यसका सांस्कृतिक विशेषतालाई सङ्गीत, कला, नृत्य, खेलकुद र परिकारमार्फत् दर्शाइनेछ। उनले विज्ञप्तिमा भनेका छन्, ‘यस वर्ष यूएनडब्ल्यूटीओले विश्व पर्यटन दिवस २०१९ पालन गर्नका लागि आयोजक देशको रूपमा भारतलाई छनोट गरेको छ। प्रत्येक वर्ष उत्सवका लागि विभिन्न थीम रहेका हुन्छन्। यसको वर्षको  थीम ‘पर्यटन र रोजगार: सबैका लागि सुन्दर भविष्य’ छ।’ थापाका अनुसार गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका अध्यक्षको रूपमा उनले पर्यटन विभागलाई दार्जीलिङमा एक उत्सव आयोजन गर्ने अनुरोध गरेका छन्।

‘किनभने पर्यटन रोजगारको प्रमुख स्रोत हो। यसले सबैका लागि आयस्रोतका अवसरहरू सिर्जना गर्दछ। पर्यटनले दार्जीलिङमा रोजगारको पर्याप्त अवसर प्रदान गर्दै आएको छ’, अनितले विज्ञप्तिमा थप भनेका छन्, ‘सामाजिक, सांस्कृतिक र आर्थिक मूल्यको विश्वव्यापी समुदायमा चेतना जगाउने क्रममा विश्व पर्यटन दिवसको उपलक्ष्यमा ‘दार्जीलिङ उत्सव’ २० सेप्टेम्बरमा भव्य कार्यक्रमबीच शुभारम्भ भएर २७ सेप्टेम्बरमा समापन हुनेछ।

थापाका अनुसार उत्सवमा विभिन्न रमाइला र उल्लासमय कार्यक्रमहरू सम्पन्न हुनेछन्। जसमा पुष्प प्रदर्शनीदेखि फुटबल खेलसम्म रहेका छन्। ‘हामी चुङ्गीको स्थानीय खेललाई पुनर्जीवित गराउनसक्ने कुरामा आशावादी छौं। इतिहास र परम्परा, फोटोग्राफर, कलाकार र कारीगरहरूलाई प्रोत्साहित गर्न विविध प्रदर्शन हुनेछन्’, उनले थप भनेका छन्, ‘हामी अन्तर्विद्यालय उत्सवको पनि आयोजन गर्नेछौं। महोत्सवमा स्वस्थ जीवनशैलीलाई पनि महत्त्व दिँदै बडी बिल्डिङ र फिटनेस कार्यक्रम आयोजन गर्नेछौं। महोत्सवअवधि बाइक र स्कुटरलगायत विभिन्न ऱ्याली हुनेछन्, जसले सुरक्षा र माउण्टेन बाइकिङद्वारा पर्यावरणीय सङ्कटबारे चेतना जगाउने सन्देश दिइनेछ।’

अर्कोतिर महोत्सवअवधि विभिन्न गैरसरकारी संस्थाले चौरस्तामा विभिन्न पसल थापेर सम्बन्धित विषयमा जागरुकता फैलाउने काम गर्ने जीटीए प्रशासक अनित थापाले बताएका छन्। महोत्सवमा पर्यटन र रोजगार- सबैका लागि सुन्दर भविष्य थिममाथि जोड़ दिएर  विशेष गरी युवा र दार्जीलिङको पर्यटन क्षेत्रका हितधारकतहरूको संलग्नता र सहभागितामा प्राथमिकता दिइने थापाको भनाइ छ।

उनले बताएअनुसार महोत्सवका लागि एक समिति पनि गठन गरिएको छ। जसमा मुख्य संरक्षकहरूमा जीटीएका मुख्य सचिव, उत्तर बङ्गालका आईजी, दार्जीलिङकी जिल्लापाल, दार्जीलिङका पुलिस अधीक्षक, दार्जीलिङका अतिरिक्त पुलिस अधीक्षक र जीटीएका सचिव रहेका छन्। जीटीएका वर्तमान अध्यक्ष संरक्षक र पूर्व अध्यक्ष समितिका अध्यक्ष रहेका छन्। समितिका अध्यक्षले विभिन्न क्षेत्रका संलग्न व्यक्तिहरूलाई समितिका अन्य पदाधिकारीहरूको रूपमा चयन गर्ने पनि थापाले विज्ञप्तिमा बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here