दार्जीलिङ, 11 सेप्टेम्बर : टाइगर हिल जाने वाहनहरूका लागि कुपन प्रणाली लागू गर्ने दार्जीलिङ पुलिसको निर्णयविरुद्ध दिन प्रतिदिन असन्तुष्टि बढ़्दै गइरहेको छ। कुपन प्रणालीले समस्या सिर्जना गरेपछि पर्यटनसँग सम्बन्धित हितधारकहरूले यो प्रणालीलाई अविलम्ब हटाउनुपर्ने माग गरेका छन्।
यसका लागि उनीहरूले पुलिस प्रशासनलाई दुई दिनको अल्टिमेटम दिएका छन्। यसका साथै पछिल्लो 1 सेप्टेम्बरदेखि लागू गरिएको नयाँ ट्राफिक नियममाथि चर्चा गर्नका लागि एक समीक्षा बैठक आयोजन गर्ने थप माग गरेका छन्।
यदि पुलिस प्रशासनले सम्बन्धित मागलाई आँखीओझेल गरेको खण्डमा नयाँ ट्राफिक नियमविरुद्ध विभिन्न कार्यक्रम शुरु गर्ने चेताउनीसमेत विभिन्न पर्यटन हितधारकले दिएका छन्।
स्मरण रहोस्, पछिल्लो 1 सेप्टेम्बरदेखि शहरलाई जाममुक्त बनाउन तथा पर्यटनको मौसममा यातायात सुचारु बनाउनहेतु नयाँ ट्राफिक नियम लागू गरिएको छ। जसअन्तर्गत ठूला वाहनहरूलाई दिउँसोको समयमा शहरमा प्रवेशनिषेध, अव्यवस्थित र अनियन्त्रित पार्किङमा रोकलगायत प्रतिदिन केवल 300 वाहन मात्र टाइगर हिल जानपाउने आदि नियम छ।
टाइगर हिलमा जाने वाहनहरूको सङ्ख्यालाई सीमित गर्नका लागि पुलिसले कुपन प्रणाली शुरु गरेको छ। विशेषगरी यो कुपन प्रणालीको कारण टाइगर हिल जाने वाहनहरूले समस्या भोग्न परेपछि यसविरुद्ध असन्तुष्टि चुलिँदै गएको छ।
यसैबीच कुपन प्रणालीलाई लिएर बुधवार पर्यटन उद्योगसँग सम्बन्धित विभिन्न हितधारकलाई लिएर एक बैठक बसिएको हिमालयन ट्रान्सपोर्ट कोर्डिनेशन कमिटीका अध्यक्ष एसएन प्रधानले बताए। बैठक स्थानीय एक होटलमा बसिएको थियो। उनका अनुसार बैठकमा उपस्थित सबैले कुपन प्रणालीले अनावश्यक समस्या सिर्जना गरेको भन्दै यसको विरोध गरेका थिए।
“पुलिसले शुरुमा यो लागू गर्दा 10 दिनका लागि प्रयोग रूपमा लागू गरेको र 10 दिनपछि एक समीक्षा बैठक डाकिने बताएका थिए। तर, 10 दिन बितिसक्दा पनि अहिलेसम्म समीक्षा बैठक बोलाइएको छैन”, प्रधानले थपे, “केही दिनअघि यसै विषयलाई लिएर हामीले राज्यका पर्यटन मन्त्री गौतम देवसँग बैठक बसेका थियौं। बैठकमा मन्त्रीले 7 दिनभित्र समीक्षा बैठक डाकिने बताएका थिए। आज उनीसँग बैठक बसेको 6 दिन बितिसकेको छ। हामी उनीहरूलाई कुपन प्रणाली हटाउनका लागि दुई दिनको समय दिइरहेका छौं। यो समयावधिभित्रै उनीहरूले समीक्षा बैठक बोलाउन पर्नेछ। नभए हामी यसविरुद्ध कार्यक्रम शुरु गर्नेछ।”
यसबारे थप विस्तृत रूपमा चर्चा गर्नका लागि आगामी शनिवार एक बैठक डाकिएको पनि प्रधानले जानकारी गराएका छन्। यसका साथै उनले टाइगर हिल जाने वाहनहरूलाई कुपन नलिने अपील पनि गरेका छन्। नयाँ ट्राफिक नियमले पर्यटन उद्योगसँग सम्बन्धित मानिसहरूलाई मर्का परिरहेको पनि प्रधानले बताएका छन्।
यसैले पनि कुपन प्रणालीलाई हटाउनका साथै नयाँ नियमबारे पुलिस प्रशासनले यथाशीघ्र समीक्षा बैठक डाकेर समाधान सूत्र खोजिनिकाल्नु पर्ने हिमालयन ट्रान्सपोर्ट कोर्डिनेशन कमिटीका अध्यक्षको भनाइ छ।
“पुलिस प्रशासनले समुचित व्यवस्था गरेको खण्डमा टाइगर हिलमा 300 भन्दा अधिक वाहन पार्किङ गर्नसक्ने स्थान छ। यसतर्फ पुलिस प्रशासनले ध्यान दिएर समाधान सूत्र खोजिनिकाल्न पर्नेछ। किनभने नयाँ नियमले पर्यटन उद्योगसँग सम्बन्धित मानिसहरू मर्कामा परिरहेका छन्,” उनले भने।