गान्तोक, 11 अक्टोबरः आज (शुक्रबार) सिक्किममा कोरोना सङ्क्रमित थप दुइजनाको मृत्यु भएको छ। मृतक दुवै गान्तोक लाल बजारनिवासी रहेको बताइएको छ।
प्राप्त जानकारीका अनुसार मृतकमध्ये एकजना महिला र अर्का पुरुष रहेका छन्।
राज्यको स्वास्थ्य विभागका महानिर्देशक एवं सचिव डा. पेम्पा छिरिङ भोटियाले दिएको जानकारीका अनुसार 68 वर्षीय महिलाको आज बिहान 5:30 बजी सोकेथाङस्थित एसटीएनएम अस्पतालमा मृत्यु भएको हो।
कोरोना सङ्क्रमित रहेका पुष्टि भएपछि यी वृद्धा पछिल्लो 1 सेप्टेम्बरका दिन भर्ना भएकी थिइन्। जानकारीका अनुसार उनी अन्य बिमारले पनि ग्रसित थिइन्।
अर्कोतिर, आजै सीएचआर मणिपालमा पनि एकजना व्यक्तिको मृत्यु भएको छ।
जानकारी अनुसार स्वास्थ्य समस्या देखिएपछि लाल बजारनिवासी 69 वर्षीय व्यक्तिलाई आज बिहान उपचारका लागि सीएचआर मणिपाल लगिएको थियो। त्यहाँ उनलाई प्रारम्भिक जाँचमा चिकित्सकहरूले मृत घोषित गरे। त्यसपछि उनको कोरोना टेस्ट गर्दा टेस्ट रिपोर्ट पोजिटिभ आएको बताइएको छ।
यी व्यक्ति पनि अन्य बिमारहरूले ग्रसित थिए भन्ने थाह लागेको छ।
यसका साथै सिक्किममा कोरोना भाइरसका कारण मृत्यु हुनेहरूका सङ्ख्या 10 पुगेको छ। हिजो पनि गान्तोकनिवासी एक वृद्धको कोरोना भाइरसका कारण मृत्यु भएको थियो। उनी पनि विभिन्न रोगले ग्रसित थिए।