हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको गठन

0
974

दार्जिलिङ, ११ सेप्टेम्बरः २० प्रतिशतभन्दा एक पैसा पनि कम्ती बोनस नथाप्ने अड़ान अघि राख्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक सङ्गठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको गठन भएको छ।

हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको गठन आज ११ सेप्टेम्बरका दिन नै भएको पनि युनियनका कार्यकारी अध्यक्ष जेबी तामाङले घोषणा गरेका छन्।

यसका साथै युनियनका महासचिव भरत ठकुरीले यसपालि चियाश्रमिकहरूका बोनसका लागि आउँदो १५ सेप्टेम्बरका दिन एक भर्चुअल वार्ता हुने तय भएको जानकारी गराउँदै यस वार्तामा युनियनको पक्षबाट पनि आफ्ना प्रतिनिधिहरूले भाग लिने बताए।

उनका अनुसार उक्त बैठकमा चियाश्रमिकहरूलाई एकैपल्टमा २० प्रतिशतको दरले बोनस दिनुपर्ने माग राख्ने योजना बनाइएको पनि ठकुरीले बताएका छन्।

उनले यस नयाँ श्रमिक सङ्गठनमा गोजमुमो-२-को श्रमिक सङ्गठन दार्जिलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनका नेतृत्वहरू नै रहेको पनि जानकारी गराएका छन्।

यस सङ्गठनकी अध्यक्षा करूणा गुरुङ, उपाध्यक्ष प्रशान्त प्रधान, कार्यकारी अध्यक्ष जेबी तामाङ, महासचिव भरत ठकुरीका साथै मोठ ३५ जना कार्यकारी सदस्य छन्।

जेबी तामाङले भने, “विगतमा चियाश्रमिकहरूलाई दुई-तीन  किस्ता गरेर पनि बोनस दिने कार्य भएको थियो, कतिपय चियाकमान मालिकहरूले अझैसम्म पनि गत वर्षको अन्तिम किस्ताको बोनस दिएका छैनन्। तर, यसपालि कोरोना महामारीको समय पनि चियाश्रमिकहरूले आफ्नो जीवनलाई जोखिममा हालेर आफ्नो काम गरेका छन्। चियाश्रमिकहरूको यो योगदान अनि इमानदाररपूर्ण कार्यको  मूल्याङ्कन गर्दै यसपाली चियाश्रमिकहरूलाई एकै किस्तामा २० प्रतिशतको दरले बोनस दिने काम गर्नुपर्छ।”

स्मरण गराइन्छ, दशैँ आउन अब केवल एक महिनाको समय छ। तर, दशैँअघि नै चियाश्रमिकहरूलाई बोनस प्रदान गर्नुपर्छ।

यस विषय लिएर आगामी १५ सेप्टेम्बरको भर्चुअल वार्तामा विशेष जोड़ दिइनेछ।

यसका साथै युनियनले आगामी दिनमा चियाश्रमिकहरूका लागि मिनिमम वेजेस एक्ट लागू गर्नुपर्ने, चियाश्रमिकहरू बस्दै आएको घर-घड़ेरीको मालिकाना अधिकार उनीहरूकै नाममा दिनुपर्ने जस्ता मागहरू लिएर पनि विभिन्न कार्यक्रम गर्ने भएको बताएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here