गोजमुमो महासचिव रोशन गिरी (फाइल फोटो)। |
दार्जीलिङ, 11 अक्टोबर : गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) पहिलो खेमाका मूलसचिव रोशन गिरीले बङ्गाल सरकार, गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए), मालिकवर्ग र विनय तामाङ समूहको श्रमिक सङ्गठन दार्जीलिङ तराई-डुवर्स प्लान्टेशन लेबर युनियन (डीटीडीपीएलयु) मिलेर श्रमिकहरूको शोषण गरिरहेको आरोप लगाएका छन्।
यसपालि दार्जीलिङ पहाड़का चियाश्रमिकहरूले केवल 15 प्रतिशतको दरले बोनस पाएपछि गिरीले यस्तो आरोप लगाएका हुन्। बिहीवार उनले एक प्रेस विज्ञप्ति जारी गरेका छन्।
विज्ञप्तिमा उनले लेखेका छन्, “अहिलेसम्म चियाबारीका श्रमिकहरूको दशैँ बोनस कहिल्यै घटेको थिएन। हामीले प्रत्येक दशैँमा चियाबारीका श्रमिकहरूको बोनस घटाउने होइन, तर बढ़ाउने काम गरेका छौं। आन्दोलन के श्रमिक, के विद्यार्थी, के कर्मचारी, युवा सचेत, बुद्धिजीवी सबै सबै जनता एकैसाथ मिलेर गरेका थिए, तर आन्दोलनलाई जीटीए-2 सँग साट्ने काम भयो। धेरैले आन्दोलनमा भएको क्षतिपूर्ति पाए, तर श्रमिकहरूलाई बङ्गाल सरकार, जीटीए, मालिक र विनय समूहको श्रमिक सङ्गठन सबै मिलेर शोषण गरे। उनीहरूले क्षतिपूर्ति पाएनन्।”
चिया कमानका मालिकहरूसमेतले आन्दोलनकालको क्षतिपूर्तिको माग गरेको र आउने वित्तीय वर्षमा 100 करोड़ क्षतिपूर्ति दिलाउने टी बोर्डले काम गरिरहेको मीडियामा आइसकेको पनि गिरीले विज्ञप्तिमा बताएका छन्।
“मालिकहरूले क्षतिपूर्ति पाउने हो भने कसरी विनय समूहको श्रमिक सङ्गठनले 104 दिनको बन्दमा मालिकहरूले नोक्सानी खेप्न परेको बहानामा सधैँ 20 प्रतिशत पाइरहेको बोनसलाई 15 प्रतिशतमा झारेको हो”, उनले विज्ञप्तिमा भनेका छन्, “जब कुनै पनि आन्दोलन हुन्छ।सबैभन्दा ठूलो त्याग ती श्रमिकहरूकै हुन्छ, तर सधैँ ती नै श्रमिकहरूलाई सरकार, मालिक र सरकारका गुलाम बनेकाहरूले शोषण गर्ने गरेका छन्।”
उनले चियाश्रमिकहरूले 20 प्रतिशत बोनस पाउनुपर्ने माग गोर्खा जनमुक्ति मोर्चाको रहेका पनि बताएका छन्। साथै श्रमिकहरूको दशैंलाई विनय समूहको श्रमिक सङ्गठनलगायत मालिकहरूले खल्लो बनाइदिएको रोशन गिरीको आरोप छ।
विज्ञप्तिमा गिरी विनय तामाङप्रति पनि आक्रामक देखिएका छन्। विनय तामाङले 44/45 समष्टिमा सम्पन्न जनसभामा चियाश्रमिकहरूको बोनस 20 प्रतिशत कम्तीमा नमान्ने बताएको पनि विज्ञप्तिमा उनले उल्लेख गरेका छन्। गिरीका अनुसार त्यसबेला जीटीए बीओएका अध्यक्षले आफ्नो सम्बोधनमा आफूलाई मालिकहरू भेट्न आउने निश्चित रहेको पनि बताएका थिए। उनले मालिकहरू आएर के कुरा भयो र श्रमिकहरूको बोनस रातारात 15 प्रतिशतमा झऱ्यो भन्ने प्रश्न पनि गर्दै श्रमिकहरूलाई हेप्न बन्द गर्नुपर्ने उनले बताएका छन्।