दल परिवर्तनको क्रम बाक्लिँदै

0
988

दार्जीलिङ, 11 अक्टोबरः दार्जीलिङ पहाड़मा फेरि एउटा पार्टी छोड़्ने र अर्को पार्टीमा सामेल क्रम शुरू बाक्लिन शुरू गरेको छ।

दल परिवर्तनको क्रम बाक्लिन शुरू गरेलगत्तै चुनाउ नजिकिँदै गइरहेको स्पष्ट हुन थालेको छ।

त्यसै पनि अब चाँड़ै बङ्गाल विधानसभाको चुनाउ हुने पक्का-पक्की छ।

बङ्गाल विधानसभा चुनाउका लागि यसपालि राष्ट्रिय पार्टीहरूसँगै क्षेत्रीय पार्टीहरूका लागि पनि दार्जीलिङ पहाड़का तीनवटा विधानसभा आसन निकै महत्त्वपूर्ण बन्ने निश्चित छ। किनभने, यसपालि बङ्गालमा भाजपाले पनि सरकार बनाउने सपना देखरहेको छ भने ममता ब्यानर्जी नेतृत्वावधीन तृणमूल कङ्ग्रेसले पनि तेस्रोपल्ट पुनः बङ्गालको गद्दीमा आउनका लागि सक्दो जोड़ लगाइरहेको छ।

यसैकारण बङ्गालका एक-एकवटा आसन यी पार्टीहरूका लागि अति नै महत्त्वपूर्ण बन्नेछ।

यता चुनाउलाई केन्द्र गरी दार्जीलिङ पहाड़मा आफ्नो बर्चस्व कायम गर्न अनि आफूलाई पहाड़को शक्तिशाली पार्टीको रूपमा चिह्नित गराउन सबै पार्टी नै लागिपरेका छन्, यसमा गोरामुमो, गोजमुमोका दुवै खेमा, तृणमूल कङ्ग्रेस आदि पार्टीहरू प्रमुख छन्।

यसैले एउटा पार्टीका सदस्यहरूलाई आफ्नो पार्टीमा सामेल गराउने काममा कोही कम देखिएका छैनन्। अहिलेघरी विनयपन्थी गोजमुमो, गोरामुमो र तृणमूल कङ्ग्रेसमा यसको होड़ नै मच्चिएको छ।

यसैले घरी गोरामुमो र तृणमूल कङ्ग्रेसका समर्थकहरू विनयपन्थी गोजमुमोमा सामेल भइरहेका छन् भने घरी विनयपन्थी गोजमुमोका समर्थकहरू गोरामुमोमा वा तृणमूल कङ्ग्रेसमा सामेल भइरहेका समाचारहरू पनि प्रतिदिनजस्तो प्रकाशमा आइरहेका छन्।

यसै क्रममा भाजपाले पनि बिस्तारै दार्जीलिङ पहाड़मा आफ्नै पार्टीलाई बलियो बनाउने अभियान शुरू गरिसकेको छ भने तृणमूल कङ्ग्रेस पनि आफै शक्तिशाली बनेर अन्य पार्टीको आड़मा नबस्ने प्रयासमा छ।

यसैले आउँदो विधानसभा चुनाउमा दार्जीलिङ पहाड़मा को बलियो छ भन्ने देखाउनका लागि पनि सबै पार्टी पार्टी विस्तारका साथै पार्टीमा सामेल गराउने अभियानमा तीव्र गतिले अघि बढ़िरहेका छन्।

यसै क्रममा आज मेरिबोङ चियाकमान क्षेत्रका विनय तामाङपन्थी गोजमुमोका 30 घर-परिवार साथै युवाहरूले गोरामुमोलाई समर्थन जनाएको दावी गरिएको छ।

गोरामुमो चुङथुङ ऋषिहाट समष्टिअन्तर्गत् मेरिबोङ शाखाको साङ्गठनिक सभाबीचै विनय तामाङपन्थी गोजमुमो समर्थकहरू गोरामुमोमा सामेल भएको पार्टीले बताएको छ।

गोजमुमोका 30 परिवार समर्थक गोरामुमोमा सामेल हुनसाथै पार्टीले मेरिबोङ गोर्खा राष्ट्रिय युवा मोर्चाको शाखा समिति पनि गठन गरेको बताएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here