गान्तोक, 11 अक्टोबरः पश्चिम सिक्किमको गेजिङ-तिग्जुक सड़कमा साँघुरो बाटो पार गर्दा शनिवार एउटा तेलको ट्याङ्कर पल्टिएर क्षतिग्रस्त हुनका साथै तेल सबै नष्ट भएको छ।
प्राप्त जानकारीका अनुसार शनिवार दिउँसो सिलगढ़ीबाट पेलिङको पम्पमा तेल लिएर आइरहेको एउटा ट्याङ्कर सेन्टमेरी ग्याबानजिकै पैह्रोले भत्किएको बाटोमा आइपुग्दा दुर्घटना भएको हो।
पैह्रोका कारण बाटो साह्रै साँघुरो भएकाले चालकले अप्ठ्यारो ठाउँबाट पार गराउने कोशिश गर्दा ट्याङ्कर पल्टिएको हो। ठूला मालवाहक वाहनहरू छिर्न नसक्ने साँघुरो बाटोबाट उक्त ट्याङ्करका चालकले जबर्जस्ती वाहन छिराउने कोशिश गराउँदा दुर्घटना भएको बताइएको छ।