
दार्जीलिङ, 11 नोभेम्बरः जीटीए बीओएका अध्यक्ष एवं विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चा महासचिव अनित थापाले दार्जीलिङ पहाड़लाई कुनै पनि स्थितिमा अशान्त बन्न नदिने प्रतिबद्धता जाहेर गरे।
दार्जीलिङ पहाड़लाई शान्त बनाउन आफूसित पूर्ण क्षमता रहेको पनि उनले बताए।
यति मात्रै होइन, उनले आफ्ना पार्टी कार्यकर्ताहरूलाई कोहीमाथि जाई नलाग्ने, तर आइलागे नछोड्ने पनि आह्वान गरे।
विशेष हिजो तकभरको बर्नसबेग चियाकमान विनय तामाङपन्थी गोजमुमो कार्यकर्तामाथि आक्रमण गरी घाइते बनाएको घटनामाथि प्रतिक्रिया व्यक्त गर्दै यस्तो बताएका हुन्।
यसै विषय लिएर आज उनले पार्टीको एक आपत्कालीन बैठक पनि गरेका थिए।
बैठकपछि पत्रकारहरूसित कुराकानी गर्दै थापाले भने, “हाल दार्जीलिङ पहाड़मा छुटपुट राजनैतिक घटनाहरू हुन थालेका छन्। राजनीतिमा कतिपय घटना हुन्छन्। यो स्वाभाविक पनि हो। राजनीति गर्ने सबैलाई अधिकार छ। तर, राजनीति गर्दा सर्वसाधारण जनताको सुविधालाई विशेष महत्व दिनुपर्छ।’’
उनले थपे, “दार्जीलिङ क्षेत्रमा विगत तीन वर्षदेखि राजनैतिक झगड़ाका कारण कसैमाथि छुरी हान्ने जस्तो घटना भएन। तर, हिजोको घटनाले पहाड़ फेरि अशान्त बन्न थालेको प्रमाणित भएको छ। राजनीति सबैले गर्न पाउँछ, सबैले आ-आफ्नो पार्टीको झण्डा फहराउन पाउँछन्, तर हतियारको प्रयोग बन्द हुनपर्छ। यदि हतियारको प्रयोग बन्द नभए, त्यसको विरोध गर्ने क्षमता हामीमा पनि छ। तर, विरोधमा हामी विश्वास गर्दैनौं। यसैले हाम्रो पार्टी कार्यकर्ताहरूले दार्जीलिङलाई शान्ति राख्नुपर्छ, कसैमाथि जाइ लाग्नु हुँदैन, तर आइलागे छोड्नु पनि हुँदैन।’’
थापाका अनुसार उनीहरू अशान्तिमा विश्वास गर्दैनन्, तर अशान्ति गर्नेहरूलाई छूट दियो भने त्यस्ता मानिसहरूको मनोबल झनै बढ़ेर जानेछ।
त्यसैले शुरूमा नै अशान्ति मच्चाउनेहरूलाई शान्त बनाउने कार्य गर्नुपर्ने र त्यो क्षमता आफूहरूसित रहेको अनित थापाले बताए।
“2017-मा भएको त्यति ठूलो अशान्तिलाई हामीले शान्त बनायौँ भने वर्तमान अशान्तिलाई पनि शान्त पार्ने क्षमता छ। यसमाथि सरकारले पनि विशेष ध्यान दिनुपर्छ’’, उनले थपे, “दार्जीलिङ पहाड़का जनताले शान्तिको श्वास फेर्देछ र सरकारले पहाड़का जनतालाई शान्तिको श्वास फेर्न दिने विषयलाई ध्यान दिनुपर्छ।’’
थापाले दार्जीलिङ पहाड़मा केही वर्षदेखि यता गुण्डागिरी नियन्त्रणमा आएको बताउँदै व्यापारीवर्गले खुल्लारूपले व्यापार गर्न पाइरहेको जनाए।
यसका साथै उनले दार्जीलिङ पहाड़लाई पटक्कै अशान्त बन्न नदिने पनि प्रतिबद्धता जाहेर गरे।