सीएबीको विरोधमा विनयपन्थी मोर्चाको पहाड़भरि धरना प्रदर्शन, जलायो खेस्रा

0
1051
सीएबीको विरोधमा धरना प्रदर्शन गर्दै विनयपन्थी मोर्चा र तृणमूल कार्यकर्ताहरू।

दार्जीलिङ, ११ दिसम्बरः नागरिक संशोधन विधेयक र एनआरसीविरुद्ध पूर्वघोषित कार्यक्रमअन्तर्गत दार्जीलिङ जिल्लापाल कार्यालयमा धरना दिन जुटेका विनय तामाङपन्थी गोजमुमो  र हिल तृणमूल कङ्ग्रेस कार्यकर्ताहरूले बुधवार नागरिक संशोधन विधेयकको खेस्रो जलाए।

आज सीएबीको विरोधमा धरना दिन विनयपन्थी मोर्चा र हिल तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरू जिल्लापाल कार्यालयअघि भेला भएका थिए।

उनीहरूले सीएबीको विरोधमा चर्को नाराबाजी गर्दै केन्द्रको भाजपा सरकारसमक्ष गोर्खालाई धोका होइन तर न्याय दिने माग गरे।

अर्कोतिर, विनयपन्थी गोजमुमोले आज दार्जीलिङलगायत कालेबुङको जिल्लापाल कार्यालय, खरसाङ र मिरिकको महकुमा शासक कार्यालयमा पनि धरना दिएको थियो।

कालेबुङमा धरना दिनअघि जिल्लापाल कार्यालयसम्म सीएबी र एनआरसीको विरोधमा विनयपन्थी मोर्चा कार्यकर्ताहरू  ऱ्याली पनि निकालेको जानकारी पाइएको छ।

आज दार्जीलिङ जिल्लापाल कार्यालयअघि धरना प्रदर्शनअवधि पत्रकारहरूसँग कुराकानी गर्दै  विनय तामाङले आज दार्जीलिङबाहेक कालेबुङ जिल्लापाल कार्यालय, खरसाङ र मिरिकको महकुमा अधिकारीको कार्यालयमा पनि सीएबीको विरोधमा धरना प्रदर्शन गरेको जनाए।

यसैबीच, उनले आज नागरिक संशोधन विधेयकको विरोधमा असममा जस्तो अवस्था सिर्जना भएको छ, त्यस्तै अवस्था दार्जीलिङ पहाड़मा पनि हुनसक्ने चेताउनी दिएका छन्। यसका साथै मोर्चा दोस्रो खेमाका अध्यक्षले यो धरना प्रदर्शन आउँदो १८ दिसम्बरसम्म जारी रहने बताएका थिए।

तामाङका अनुसार १९  दिसम्बरको दिन दार्जीलिङलगायत पहाड़का अन्य विभिन्न स्थानमा सीएबीको विरोधमा ऱ्याली निकालिइनेछ। साथै उक्त दिन दार्जीलिङ र कालेबुङका जिल्लापाललाई ज्ञापन चढ़ाइनेछ।

यसरी नै विनयले आउँदो 23 देखि 27 दिसम्बरसम्म दार्जीलिङ पहाड़मा रहेका केन्द्र सरकारअधीनस्थ कार्यालयहरूमा घेराउ गर्ने कार्यक्रम बनाएको पनि जानकारी गराए। यति विरोध वा विक्षोभ प्रदर्शनपछि पनि केही नभए यो कार्यक्रमले अझै उग्र रूप धारण गर्नसक्ने पनि उनले चेताउनी दिए।

उनले भने, ‘‘एनआरसीबाट असमका 19 लाख जनता छुटेका छन्,  जसमध्ये एक लाख जति गोर्खा पनि छन्। तर, ती 19 लाख नागरिकलाई केन्द्रिय गृहमन्त्री अमित शाहले घुसपैठ वा अनुप्रवेशकारीको संज्ञा दिएका छन्। तब के देशरक्षाका लागि आफ्नो ज्यानको बाजी लगाउने गोर्खा समुदाय पनि अनुप्रवेशकारी भए? यसैको विरोधमा पनि आजदेखि गोजमुमो र तृणमूल कङ्ग्रेसले यो धरना प्रदर्शन शुरू गरेको हो।’’

उनले यो विरोध प्रदर्शन कार्यक्रममा अन्य राजनीतिक पार्टी तथा आम जनतालाई पनि सहभागी बनेर अझै बृहत् बनाउने उनले अपील गरेका छन्।

‘‘यो सीएबीले के धनी, के गरीब कसैलाई पनि छोड्ने छैन। यसैले यसको विरोधमा सम्पूर्ण जनता मैदानमा आउन आवश्यक छ’’, विनयले थपे “यो कुनै एउटा पार्टीलाई सहयोग पुर्‍याउन होइन, आफ्नै सहयोगका लागि अघि आउन आवश्यक छ।’’

अर्कोतिर नागरिक संशोधन विधेयककै कारण असममा पछिल्लो ९  दिसम्बरदेखि नै अशान्ति शुरु भएको उनले बताए। यसैले पनि यो अशान्तिलाई अझ बढ्न नदिन केन्द्र सरकारले सीएबीलाई फिर्ता लिनु नै उचित हुने तामाङले बताएका छन्।

यसैबीच, राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले बङ्गालमा एनआरसी लागू हुननदिने तथा गोर्खा समुदायलाई सुरक्षा दिने बताउँदै आइरहेकी छन् भन्दै उनले मुख्यमन्त्री ममता ब्यानर्जीलाई धन्यवाद पनि दिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here