दार्जीलिङ, 11 दिसम्बरः बङ्गालमा दार्जीलिङ पहाड़बाट आफ्नो राजनैतिक यात्रा शुरू गर्ने भाजपाको यो यात्रा दार्जीलिङबाटै समाप्त भएर जाने दार्जीलिङ हिल तृणमूल कङ्ग्रेसले आज दावी गऱ्यो।
यो कुरा सबैले लेखेर राख्दा पनि हुने दार्जीलिङ हिल तृणमूल कङ्ग्रेसका समन्वयक एनबी खवासले ठोकुवा गरे।
राज्यको ममता ब्यानर्जी सरकारले 10 वर्षको कार्यकालमा राज्यमा के-कस्तो विकास गऱ्यो भन्ने विषयबारे जनतालाई जानकारी गराउने उद्देश्यले नै आज दार्जीलिङ हिल तृणमूल कङ्ग्रेसले एक जनसभाको आयोजन गरेको थियो।
स्थानीय चोकबजारमा जनसभा हुनअघि पार्टीले डीआरसी गोदाम नजिकबाट जुलूस पनि निकालेको थियो, जसमा भाजपाविरोधी नाराबाजी लगाइएको थियो भने पहाड़मा शान्ति ल्याउनु हो भने तृणमूल कङ्ग्रेसलाई साथ दिनुपर्ने पनि आह्वान गरिएको थियो।
शहरका विभिन्न स्थानको परिक्रमा गरेपछि यो जुलूसले चोकबजारमा आएर एक जनसभाको रूप लिएको थियो।
यसै जनसभालाई सम्बोधन गर्दै पार्टी नेता खवासले देशको जीडीपी घटिरहेको समय ममता ब्यानर्जीको नेतृत्वमा चलिरहेको राज्य सरकारले राज्यको जीडीपीलाई व्यापक मात्रामा बढ़ाउने सफलता पाएको बताए।
उनले भने, “2011-मा राज्यको सत्ता आफ्नो हातमा लिँदा राज्यको आर्थिक स्थिति 5.1 लाख करोड़ थियो, तर अहिले आएर यो आर्थिक स्थिति 6.9 लाख करोड़ भएको छ। राज्यको सत्ता तृणमूल कङ्ग्रेस नेतृ ममता ब्यानर्जीको हातमा आउँदा राज्यका प्रतिव्यक्तिको वार्षिक आय 51,543 रुपियाँ थियो भने अहिले प्रतिव्यक्तिको आय 1 लाख 9 हजार 491 रुपियाँ भएको छ।’’
उनले थपे, “2011-को तुलनामा राज्यको बजेट 3 गुणा बढ़ेर गएको छ, जसको कारण राज्यमा विकासले पनि गतिलै तीव्रता पाइरहेको छ। यो विकासको तीव्रताबाट दार्जीलिङ पहाड़ले पनि असल फल पाएको स्पष्ट छ। जसअनुसार, वर्तमानमा दार्जीलिङ पहाड़ वा जीटीए क्षेत्रको एउटै गाउँ पनि बिजुलीविहीन छैन। प्रत्येक गाउँमा बिजुली पुगिसकेको छ। राज्य सरकारले तृणमूल कङ्ग्रेस नेतृ ममता ब्यानर्जीको नेतृत्वमा नै यो सफलता पाएको हो।’’
राज्य सरकारको यसै सफलताकE लागि भोलिदेखि पार्टीले दार्जीलिङ पहाड़का प्रत्येक गाउँ, बस्तीतिर पर्चा वितरण गर्ने कार्यक्रम पनि तयार पारेको उनले आफ्नो सम्बोधनअवधि जानकारी गराए। जसमा सरकारले राज्यमा के कस्ता विकासका काम गरेको छ, त्यसबारे बुझाउने तय गरिएको खवासको भनाइ छ।
यसैबीच, उनले भाजपामाथि कटाक्ष गर्दै भने, “दार्जीलिङका सांसद राजु बिष्ट साथै भाजपाका अन्य शीर्ष नेताहरूले राज्यमा गणतन्त्र छैन भन्ने आरोप लगाइरहेका छन्। तर, के भाजपा सरकारले किसानहरूमाथि गरिरहेको अत्याचार गणतान्त्रिक पद्धतिको एउटा उदाहरण हो? अहिले दिल्ली र हरियाणाको सिमाना हेरियो भने भाजपाको गणतन्त्र स्पष्ट भइहाल्छ। भाजपाले देशका किसानहरूमाथि अत्याचार गर्नुलाई गणतन्त्र मान्ने गरेको छ।’’
यति मात्रै होइन, तीनवटा संसदीय चुनाउमा लाखौंको मत व्यवधानले दार्जीलिङ लोकसभा आसनबाट जीत हासिल गरेर जाने भाजपाले देशको गोर्खा जातिको अस्तित्व नै सङ्कटमा पार्ने काम गरिरहेको पनि एनबी खवासको आरोप छ।
“आगामी दिनमा देशमा गोर्खा रेजिमेन्ट रहन्छ/रहँदैन, त्यो संशयको विषय बनिरहेको छ। तर, राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले देशभक्त गोर्खा जातिका लागि छुट्टै गोर्खा बटालियनको घोषणा गरी गोर्खाको अस्तित्व बँचाउने काम गरिरहेकी छन्’’, हिल तृणमूल नेता खवासले थपे, “यसैले अब दार्जीलिङ पहाड़बाट बङ्गालमा आफ्नो राजनैतिक यात्रा शुरू गर्ने भाजपाको राजनैतिक यात्रा समाप्त गर्न दार्जीलिङ पहाड़का प्रत्येक जनता सचेत बन्नुपर्छ।’’