दार्जीलिङ, 12 जनवरी : दार्जीलिङका छोरा जीवन गुरुङ जम्मू-कश्मीरमा शहीद भएका छन्। शुक्रवार जम्मू-कश्मीरको रजौरी जिल्लाको नौशेरा क्षेत्रमा भएको आतङ्की हमलामा 25 वर्षे जीवन शहीद बनेका हुन्। उनी लोअर लामाहट्टा बस्ती (सिग्रीताम प्राथमिक स्वास्थ्य केन्द्र परिसर) निवासी हुन्। देशको सुरक्षार्थ युवा उमेरमै जीवन शहीद बनेपछि अहिले सम्पूर्ण लामाहट्टा क्षेत्र नै शोकमा डुबेको छ।
शहीदका काका अम्बर गुरुङ लाछिकाठीमा अनुसार जीवन शुक्रवार साँझ शहीद बनेका हुन्। उनलाई सेनाको हिजै राति 8 :15 बजे सेनाको तर्फबाट फोन गरी जीवन शहीद बनेको जानकारी दिएका थिए। पारिवारिक सूत्रका अनुसार जीवनको शव भोलि अर्थात् आइतवार घर ल्याइपुर्याइने छ। सोमवार सैनिक सम्मानसहित अन्तिम संस्कार गरिनेछ। अन्तिम संस्कारअवधि सेनाका उच्चाधिकारी, दार्जीलिङका महकुमा अधिकारी, रङ्ग्ली रङ्ग्लीयटका खण्ड विकास अधिकारी पनि उपस्थित रहने जानकारी पाइएको छ।
सन् 2014 -मा 2/1 सेना भर्ना भएका जीवन दशैं तिहारको छुट्टी बिताएर दुई महिना अघि मात्र ड्युटीमा फर्केका थिए। छुट्टीको समयमा घरका कतिपय निर्माणकार्यमा आफूलाई व्यस्त राखेका उनले आफ्ना दाजुको घरमा एक साता काम सघाउन पनि भ्याएका थिए। युवा जीवन राम्रा गायक पनि थिए। उनको गीति एल्बम निकाल्ने धोको थियो। यसका लागि काका अम्बर लाछिकाठीसँग मिलेर योजना बनाइसकेका थिए।
“हामी काका-भनिज मिलेर एल्बमको तयारी गरिरहेका थियौं। जीवन गाउनमा पनि राम्रो थियो। उनको एल्बम निकाल्ने चाहना थियो”, काका अम्बर लाछिकाठी भन्छन्, “केही गीतको काम पनि सकिसकेको थियो। अरू गीतको काम हुँदैथियो, तर अब जीवनको गीति एल्बम निकाल्ने धोको कहिले पूरा हुनेछैन।”
उल्लेखनीय छ, यसै हमलामा परी एक मेजर पनि शहीद भएका छन्, जबकि दुई अन्य जवान घाइते भएको बताइएको छ।